युथफोर्स डनहरुको संगठन !

काठमाण्डु टुडे २०७० असोज १ गते ३:४९ मा प्रकाशित

yuba-sanghकाठमाण्डु- कार्यकर्ताहरुले नेकपा एमाले डनहरुको पार्टी भएको गुनासो गर्दा अध्यक्ष झलनाथ खनालले भनेका थिए, ‘तपाईंले धेरै दिन नुहाउनु भएन भने शरिरमा फोहर मैला जम्मा हुन्छ । त्यसैले बेलाबेलामा नुहाइरहनु पर्छ, नुहाइसकेपछि सबै फोहर जान्छ ।’ उनको यो अभिव्यक्ति पार्टीमा भएका डन, गुण्डागर्दीको झुण्डहरुप्रति लक्षित थियो । आपराधिक पृष्ठभूमिका व्यक्तिलाई पार्टीमा स्थान दिइएको कार्यकर्ताको गुनासो बढ्दै गएपछि उनले पार्टीमा केही नराम्रा व्यक्तिहरु भएको स्वीकार्दै तिनिहरुलाई शरिरको मैलो हटाएजस्तै पाखा लगाउने आश्वासन दिएका थिए ।

तर, पार्टी अध्यक्ष खनालले बोलेका कुरा एमालेमा लागु भएको छैन । उनलाई बरिष्ठ नेता केपी ओली पक्षले खुला चुनौति दिदै आपराधीक पृष्ठभूमिका व्यक्तिहरुलाई पार्टीमा उचित जिम्मेवारी दिन छाडेको छैन । यसको पछिल्लो उदाहरण हो, युथफोर्सको जिम्मेवारी बाँडफाँड ।

चितवनको रत्ननगरमा सम्पन्न युवासंघको कार्यकर्ता भेलाले पार्टी अध्यक्ष खनाललाई थाहै नदिई युथफोर्स व्युँताउने निर्णय गर्यो । वीवीसी नेपाली सेवासँगको कुरामा खनालले ‘युथफोर्स अब व्युँतदैन’ भन्दै गर्दा युवासंघले चन्द्र लामाको अध्यक्षतामा २५ सदस्यीय युथफोर्स विभाग गठन गर्यो । यही युथफोर्समा डनहरुलाई पनि स्थान दिइएको छ । डनहरु दिनेश अधिकारी ‘चरी’, रमेश बाहुन र साजन युथफोर्सको केन्द्रीय समितिमा छन् । बाहुनलाई बरिष्ठ केन्द्रीय सदस्य बनाइएको छ । उनलाई निर्बाचन परिचालन समितिमा पनि राखिएको छ । १७ सदस्यीय निर्वाचन परिचालन समितिको संयोजक भने युवासंघका अध्यक्ष महेश बस्नेत छन् । बस्नेतले कार्यकर्ता भेलाको निर्णय सार्बजनिक गर्न सोमबार चितवनमा आयोजित पत्रकार सम्मेलनमा प्रहरीलाई ‘ठीक पार्न’ युथफोर्स व्युँताएको बताएका थिए । बर्दिधारी पुलिसले चुनावमा चलखेल गर्ने आरोप लगाउँदै उनले अब युथफोर्सले पुलिसलाई ठीक पार्ने चेतावनीयुक्त अभिव्यक्ति दिएका थिए ।

यसले के पुष्टि गर्दछ भने राजनीतिक दलहरु चुनावको परिणाम आफ्नो पक्षमा पार्न जस्तोसुकै कदम चाल्न पनि तयार छन्, चाहे त्यो गुण्डागर्दी नै किन नहोस् । यस्तो अवस्थामा आगामी निर्बाचन स्वच्छ, भयरहित र शान्तिपूर्ण होला भनेर कसरी पत्याउने ?

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us