मन्त्रिपरिषद् अध्यक्ष र प्रधानसेनापतिबीच निर्वाचन सुरक्षाबारे छलफल

काठमाण्डु टुडे २०७० भदौ ३१ गते ९:२६ मा प्रकाशित

khilrajकाठमाण्डुArmy chief ३१ भदौ–मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी र प्रधानसेनापति गौरब शम्शेर जबराबीच देशको समग्र सुरक्षा स्थितिका बारेमा सोमबार छलफल भएको छ । 
भेटका क्रममा रेग्मी र राणावीच आगामी मंसिर ४ गतेका लागि निर्धारित संविधानसभा निर्वाचनलाई सुनिश्चित गर्दै सफलतापूर्वक सम्पन्न गर्न लिइने सुरक्षा रणनीति र सुरक्षा प्रबन्धका बारेमा गम्भीर छलफल भएको रेग्मीका सल्लाहकार बिमल गौतमले बताए ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको उक्त छलफलका क्रममा प्रधानसेनापति राणाले देशको पछिल्लो समग्र शान्ति सुरक्षाको अवस्थाबारे मन्त्रिपरिषद् अध्यक्षलाई जानकारी गराएका थिए । वर्तमान समयमा अपरिहार्य बनेको संविधानसभा निर्वाचनलाई निर्धारित मितिमै स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक पर्ने सुरक्षा व्यवस्थाका बारेमा निरन्तर छलफल जारी राख्ने विषयमा पनि छलफल भएको गौतमले बताए ।
गौतमका अनुसार प्रत्येक बालिग नेपाली नागरिकले भयरहित वातावरणमा मतदान गर्न पाउने अधिकारको सुनिश्चितताका लागि शान्ति सुरक्षाको प्रत्याभूत गर्दै अघि बढ्ने विषयमा पनि रेग्मी र राणा वीच छलफल भएको छ ।
भेटकै क्रममा प्रधानसेनापति राणाले आफ्नो हालैको बेलायत भ्रमण सफल भएको र नेपाली सेना र बेलायती सेनाबीच लामो समयदेखि कायम रहँदै आएको मैत्री सम्बन्ध यस भ्रमणबाट थप प्रगाढ भएको जानकारी पनि गराएको गौतमले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us