प्रहरीलाई तह लगाउन युथफोर्सः बस्नेत

काठमाण्डु टुडे २०७० भदौ ३१ गते ९:२५ मा प्रकाशित

mahesh-basnet_20130216093317चितवन, ३१ भदौ– एमाले युवासंघ अध्यक्ष महेश बस्नेतले आसन्न संविधानसभा निर्वाचनमा प्रहरीलाई ठीक पार्न युथफोर्स गठन गरिएको बताएका छन् ।
चितवनको भरतपुरमा सोमबार भएको पत्रकार सम्मेलनमा उनले फुली लगाएका प्रहरीलाई तह लगाउन आफूले युथफोर्स गठन गरेको बताए । गत संविधानसभा निर्वाचनमा पार्टी र नेताहरुको सुरक्षा गर्न नसक्दा एमालेले पराजय भोग्नुपरेकाले यसपटक सुरक्षाका लागि युथफोर्स आवश्यक परेको दाबी उनको थियो ।

बस्नेतले देशका ७५ वटै निर्वाचन क्षेत्रमा ५ सय मोटरसाइकलसहितका युवा २४ सै घण्टा तयारी हालतमा राखिने दाबी गरे । नेता केपी ओलीको समर्थनमा पार्टी नीतिविपरीत युथफोर्स गठन गरिएको भन्दै अध्यक्ष झलनाथ खनाल पक्ष रुष्ट छ । खनाल पक्षले युथफोर्स पार्टीको आधिकारिक संरचना नभएको बताउँदै आएको छ । पार्टी र नेताहरुको सुरक्षाका लागि युवा संघ नै पर्याप्त रहेको संस्थापन पक्षको भनाइ छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us