उच्चस्तरिय राजनीतिक समिति र ३३ दलीय मोर्चा वीचको वार्ता असफल

काठमाण्डु टुडे २०७० भदौ ३१ गते १०:१२ मा प्रकाशित

hihglavel-with-33-dal

काठमाण्डु–उच्चस्तरिय राजनीतिक समिति र नेकपा–माओवादी नेतृत्वको ३३ दलीय राजनीतिक मोर्चा वीचको वार्ता असफल भएपछि राष्ट्रपति डा रामवरण यादवको निवासमा पुगेका नेताहरुले त्यहाँबाट पनि असहमति अडान यथावत राखेर फर्किएका छन । वार्ता असफल भएपछि मंसिर ४ गतेको निर्वाचनमा नेकपा–माओवादी सहभागी हुने संभावना क्षीण बन्दै गएको छ । 

मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले प्रधानन्यायधिश पदबाट राजीनामा दिनु पर्ने र संबिधानसभाको दोस्रो निर्वाचनको मिति मंसिर ४ बाट चैतमा पुरयाउनु पर्ने अडानमा कायम रहेको ३३ दलीय मोर्चा र मंसिरमै निर्वाचन गराउनु पर्ने र रेग्मीलाई प्रधानन्यायधिशबाट राजीनामा गराउन नहुने उच्चस्तरिय राजनीतिक समितिका नेताहरुको अडानका कारण वार्ता असफल भएको हो । काँग्रेस उपसभापति रामचन्द्र पौडेलका अनुसार दुवै पक्ष आ आफनो ऐजेण्डामा रहेकोले सहमति हुन नसकेको हो । उनले खिलराज रेग्मी व्यक्तिलाई नभई प्रधानन्यायाधीशलाई सरकार प्रमुख बनाइएकाले राजीनामा हुन नसक्ने दोहो¥याए । रेग्मीलाई प्रधानन्यायाधीशबाट राजीनामा गराउँदा राजनीतिक प्रक्रिया नै अप्ठेरोमा पर्ने भनाइ पौडेलको थियो । सरकारलाई मंसिरसम्म निर्वाचन गराउने म्याण्डेट दिइएकाले चैतमा चुनाव सार्दा थप संवैधानिक जटिलता आउने उनले बताए ।
एकीकृत माओवादीका अध्यक्ष प्रचण्डसँग रेग्मीले सोमबार बिहान आफूले प्रधानन्यायधिश पदबाट राजीनामा नदिने धारणा व्यक्त गरेका थिए भने ३३ दलीय मोर्चाले आफूले अगाडि सारेका चार बुँदे प्रस्तावमा एक इन्च पनि तल झर्न नसकिने निर्णय गरेको थियो । उच्चस्तरिय राजनीतिक समितिको कार्यालय नयाँ बानेश्वरमा दिनभरीको वार्ता असफल भएपछि साँझ दुवै पक्ष छुट्टा छुटटै राष्ट्रपति निवासमा पुगेका थिए । वार्तालाई दुवै पक्षले जारी राख्ने समझदारी बनाएपनि मंगलवारदेखि उच्चस्तरिय राजनीतिक समितिको संयोजक परिवर्तन हुदैछन । प्रत्येक महिना फेरिने समितिको संयोजकको जिम्मेवारी सम्हाल्दै आएका काँग्रेस सभापति सुशिल कोइरालाको अवधि सकिएको छ भने मंगलवारदेखि एमाले अध्यक्ष झलनाथ खनालले संयोजकको सम्हाल्नेछन ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us