
काठमाण्डु, ३१ भदौ–चुनावी प्रकृयामा असन्तुष्ट नेकपा–माओवादी नेतृत्वको मोर्चाको मागअनुसार मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीलाई प्रधानन्यायाधीश पदबाट राजीनामा गराउन पहल शुरु भएको छ । माओवादीले रेग्मीले प्रधानन्यायाधीश पदबाट राजीनामा दिए मंसिरकै चुनावमा सहभागी हुने बताएपछि दलहरु त्यसको गृहकार्यमा जुटेका हुन् ।
चुनावमा सबै दललाई समेटेर जानुपर्ने भएकाले उच्चस्तरीय राजनीतिक समितिमा आबद्ध दलहरुले रेग्मीलाई प्रधानन्यायाधीश पदबाट राजीनामा गराउने प्रयास शुरु गरेको स्रोतले जनाएको छ । दिउँसो उच्चस्तरीय राजनीतिक समितिको बैठकमा यसबारे छलफल समेत हुँदैछ । उच्चस्तरीय समितिमा छलफल गरेपछि माओवादी सहित सर्वदलीय बैठक बस्ने छ ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीलाई चुनावमा सहभागी गराउने उपायका विषयमा मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीसँग सोमबार विहान परामर्श समेत गरेका छन् । पार्टी निकट क्रान्तिकारी पत्रकार संघको बैठकलाई पेरिसडाँडामा सम्बोधन गरेर प्रचण्ड रेग्मीलाई भेट्न बालुवाटार पुगेका थिए । ‘माओवादी नेतृत्वको मोर्चालाई समेत सहभागी गराएर मंसिरमै चुनाव गराउने उपायबारे छलफल भयो,’ प्रचण्डका सहयोगी शिव खकुरेलले भने, ‘आजको सर्वदलीय बैठक निष्कर्षमा पुर्याउने प्रयास भैरहेको छ ।’
प्रधानन्यायाधीश रेग्मीलाई एमाओवादीकै प्रस्तावमा चुनावी सरकारको जिम्मा दिइएको थियो । कार्यपालिका र न्यायपालिका एउटै व्यक्तिले सम्हालेर सरकार निरंकूश बनेको भन्दै वैद्य माओवादी लगायतले आलोचना गर्दै आएका छन् । हाल दामोदर प्रसाद शर्माले कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्दै आएका छन् ।
माओवादीलाई समेत चुनावमा समेट्न रेग्मीलाई प्रधानन्यायाधीश पदबाट राजीनामा गराउने की नगराउने भन्नेमा काँग्रेस–एमालेमा एकमत छैन । प्रधानन्यायाधीशबाट राजीनामा दिने प्रस्ताव रेग्मीले पनि तत्काल स्वीकार्ने अवस्था भने नरहेको स्रोत बताउँछ ।
प्रधानन्यायाधीश रेग्मीलाई मन्त्रिपरिषद अध्यक्ष बनाउने एमाओवादीको प्रस्तावमा शुरुमा काँग्रेस–एमालेले विरोध गरे पनि पछि सहमतिमा आएका थिए । यद्यपी यसमा ति पार्टीभित्र एकमत भने छैन । रेग्मीलाई प्रधानन्यायाधीश पदबाट राजीनामा गराउने वैद्य माओवादीको माग भने काँग्रेस–एमालेका केही नेताहरुबाट प्रेरित रहेको स्रोत बताउँछ । ‘प्रधानन्यायाधीशलाई मन्त्रिपरिषद अध्यक्ष बनाएर चुनाव गराउने कदम पुरानो संरचना भत्काएर नयाँ बनाउने प्रयास हो,’ एक नेताले भने, ‘तर, सबै संरचनामा आमूल परिवर्तन चाहने वैद्य माओवादीले यसको विरोध गर्नु काँग्रेस–एमालेको एजेण्डा बोकेको गन्ध आउँदैन र ?’