
काठमाण्डु, ३१ भदौ – नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले युथफोर्स गठन नहुने बताइरहँदा भ्रातृ संगठन युवा संघ नेपालले केन्द्रीय सचिव चन्द्र लामाको नेतृत्वमा युथफोर्स विभाग गठन गरेको छ । आइतबार बेलुका वीवीसी नेपाली सेवाको साझा सवालमा कुरा गर्दै अध्यक्ष खनालले अब युथफोर्स गठन नहुने बताएका थिए । तर, सोही दिन नै चिवतनको रत्ननगरमा सम्पन्न राष्ट्रिय कार्यकर्ता भेलाले लामाको नेतृत्वमा २५ सदस्यीय युथफोर्स विभाग गठन गरेको हो ।
आफ्नै भ्रातृ संगठनका कुरा पार्टी अध्यक्षलाई थाहा नहुने लाजमर्दो कुरा हो भन्दै सामाजिक सन्जालहरुमा व्यङ्ग्य प्रहार भैरहेका छन् । त्यसो त एमाले युवा संघले पार्टी अध्यक्ष खनालकै निर्देशन विपरित बैठक, प्रशिक्षण गर्दै आएको छ ।
पत्रकार नरेन्द्र केसी आफ्नो फेसबुक वालमा लेख्नुहुन्छ, ‘अहिले वीवीसीको साझा सवाल चल्दैछ र अतिथि हुनुहुन्छ एमाले अध्यक्ष झलनाथ खनाल । उहाँ पूरै विश्वासका साथ भन्दै हुनुहुन्छ–युथफोर्स कुनै पनि हालतमा बन्दैन, विल्कुल बन्दैन । तर, उता चितवनमा त युवा संघले युथफोर्स घोषणा गरि पो सक्यो रे, आफ्नै जनसंगठनभित्र के हुँदैछ भन्ने सूचना नपाउने नेताहरुले देशी विदेशी शक्तिकेन्द्रहरु के गर्दैछन् भन्ने सूचना कसरी पाउलान् ?’
कार्यकर्ता भेलाले युथफोर्सको सहसंयोजकमा ध्रुव आचार्यलाई चयन गरेको छ भने बाँकी सबै सदस्य रहेका छन् । शनिबारदेखि सुरु भएको भेलाले युथफोर्सको मातहतमा रहने गरी चन्द्र लामाकै नेतृत्वमा ५ सय सदस्यीय केन्द्रीय फोर्ससमेत गठन गरेको छ । जसको उपप्रमुखमा भने युवा संघका रामजी सापकोटालाई चयन गरिएको छ ।
यस्तै भेलाले महेश बस्नेतको नेतृत्वमा १७ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ । एमालेलाई पहिलो पार्टी बनाउन जस्तोसुकै कदम चाल्ने नीतिसमेत भेलाले पारित गरेको युवा संघ नेपाल केन्द्रीय लेखा आयोगका अध्यक्ष कमलराज पाठकले जानकारी दिए । भेलामा देशभरका ७ सय ७६ जना अगुवा कार्यकर्ताहरू सहभागि थिए ।