अबको शिक्षा रोजगारी श्रृजनामा अग्रसरता

काठमाण्डु टुडे २०७० भदौ ३० गते १५:०५ मा प्रकाशित

khilrajखिलराज रेग्मी

भौगालिक रुपमा देशको राजधानी सहरबाट केही दूरीमा रहेतापनि सुदूरपश्चिमाञ्चल विकास क्षेत्र नेपालको विकासलाई गति प्रदान गर्न अनन्त सम्भावनायुक्त क्षेत्रका रुपमा रहेको छ । विशेषतः सुदूरपश्चिमाञ्चल क्षेत्रको प्रचुर जलसम्पदा, जैविक विविधता, रत्नगर्भ भूमि तथा साँस्कृतिक सम्पदाले यस क्षेत्रलाई समृद्ध तुल्याएको छ । साँस्कृतिक तथा प्राकृतिक सम्पदाहरु, पुरातात्विक तथा सामाजिक महत्वका कारण सुदूरपश्चिमाञ्चल क्षेत्रप्रति आकर्षण बढाएको भएतापनि यस क्षेत्रमा आशातीत् विकास र समृद्धि हासिल गर्न नसकिएको वास्तविकता रहेको छ । विविध कारणवश यस क्षेत्रका मानिसहरुको सामाजिक, आर्थिक तथा साँस्कृतिक रुपान्तरणको कार्यले गति लिन सकेको छैन । तसर्थ, राज्यले सुदूरपश्चिमाञ्चल क्षेत्रको विकासका लागि विभिन्न प्रकारका कार्यक्रमहरु तर्जुमा गरी कार्यान्वयन गर्दै आएको छ र यस क्षेत्रको विकासलाई उच्च प्राथमिकतामा राख्दै विभिन्न योजना तथा निर्माणका कार्यमा सरकारले अग्रसरता लिएको छ । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको स्थापना पनि राज्यले यस क्षेत्रको विकास र समृद्धिका लागि गरेका यीनै प्रयासहरुमध्येको एउटा महत्वपूर्ण पक्ष हो । सुदूरपश्चिमाञ्चल क्षेत्रको सर्वाङ्गीण विकासमा विश्वविद्यालयले शैक्षिक जनशक्ति उत्पादन गरी उच्च शिक्षाको प्रबद्र्धन गर्नुका साथै यस क्षेत्रको गरिबी, बेरोजगारी तथा सामाजिक कुरीतिलाई अन्त्य गर्ने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको छ भन्ने मलाई लाग्दछ । साथै, विश्वविद्यालयले शिक्षाका माध्यमबाट समग्र सुदूरपश्चिमाञ्चल क्षेत्रको विकास र समृद्धिमा आगामी दिनमा अझ प्रभावकारी रुपमा कार्य गर्दै अघि बढ्नेछ भन्ने आशा एवं विश्वास लिएको छु ।

वर्तमान समयमा हाम्रो मुलुकमा शिक्षित बेरोजगार युवाहरुको संख्या दिन प्रतिदिन बृद्धि भइरहेको छ । शिक्षित युवाहरुको हातमा विश्वविद्यालयको उपाधि र प्रमाणपत्रहरु भएतापनि सीमित अवसरका कारण आफ्नो योग्यताअनुरुपको भूमिका प्राप्त गर्न नसकेका कारण विद्यार्थीहरुमा कुण्ठा र निराशा व्याप्त भएको देखिन्छ । शिक्षा क्षेत्रमा रहेको यसप्रकारको चूनौतीपूर्ण अवस्थाका बारेमा प्रायः मैले सबै अवसरमा भन्दै आएको छु – अबको हाम्रो शिक्षा पद्धतिले रोजगारी र अवसर श्रृजना गर्नेतर्फ पनि अग्रसरता लिनुपर्दछ । यसकारण, आजको हाम्रो शिक्षापद्धतिले जनशक्ति उत्पादन गर्ने मात्र नभई त्यस्तो उत्पादित जनशक्तिको श्रम, सीप र क्षमताको उपयोग गरी रोजगारी र अवसरको सुनिश्चितता गर्नेतर्फ केन्द्रित हुन जरुरी छ । किनभने, जुन शिक्षाले व्यक्तिलाई आत्मनिर्भर बनाउन र जीविकोपार्जन गर्न सक्षम बनाउँदैन त्यस्तो शिक्षाको उद्देश्य सफल भएको मान्न सकिदैँन ।

वर्तमन समयमा शिक्षाक्षेत्रमा विद्यमान विविध समस्यामध्ये गुणस्तरीय शिक्षा प्रवाह एउटा चुनौती बनेको छ । आजको शिक्षित जनशक्तिले अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्दै अग्रसर हुनुपर्ने आवश्यकता रहेको अवस्थामा हाम्रा उत्पादित जनशक्तिले अझ बढी सक्षमता, श्रृजनशीलता, गुणस्तर र प्रभावकारिता बृद्धि गर्नु आवश्यक छ । विश्वव्यापीकरणको वर्तमान युगमा हाम्रा विश्वविद्यालयहरुले यस तथ्यलाई हृदयंगम् गरी गुणस्तरीय शिक्षाको विकास र विस्तारमा आफ्ना योजना तथा कार्यक्रमहरु लागू गर्दै अघि बढ्नुपर्दछ । तसर्थ, शैक्षिक निकायहरुले सैद्धान्तिक ज्ञानका साथै जीवनोपयोगी व्यावहारिक ज्ञान प्रवाह गर्न तथा आधुनिक प्राविधिक ज्ञानको विस्तारलाई महत्वका साथ कार्यान्वयन गर्नुपर्दछ भन्ने मलाई लाग्दछ ।

आजको यस सभामा प्रस्तुत छलफलका विषयवस्तुहरु विश्वविद्यालयको आगामी रणनीति तर्जुमा गरी उच्च शिक्षाको प्रबद्र्धन र विकासका लागि महत्वपूर्ण रहेका छन् । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले अवलम्बन गर्न चाहेको आगामी नीति तथा कार्यक्रमहरुको सफलताको कामना गर्दछु र यस कार्यमा विश्वविद्यालयले जारी राखेको सबै प्रयासको कदर गर्न चाहन्छु । साथै, सरकारका तर्फबाट कुनै सहयोग गर्नुपर्ने अवस्था भएमा त्यसतर्फ पनि सहयोग जारी रहने विश्वास दिलाउन चाहन्छु ।

मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले सुदुरपश्चिमाञ्चल बिश्वबिद्यालयको दोस्रो सभा बैठकमा आइतवार उपकुलपतिको हैसियतमा व्यक्त बिचारको सम्पादित अंश

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us