
चितवन, ३० भदौ – नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपालको दुईदिने राष्ट्रिय कार्यकर्ता भेलामा आइतबारबाट बन्दसत्र शुरु भएको छ । रत्ननगरमा जारी बन्दसत्रमा प्रशिक्षण, राजनीतिक प्रस्तावमाथि छलफल र युथफोर्सको पुनर्गठन गर्ने तयारीबारे छलफल हुनेछ ।
बन्दसत्रमा देशभरका ७ सय ७६ जना प्रतिनिधि सहभागी छन् । सहभागी कार्यकर्ताहरुलाई नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव ईश्वर पोख्रेलले प्रशिक्षण दिने युवासंघले जनाएको छ । नेताहरुले आगामी निर्वाचनमा पार्टीलाई विजयी गराउन युवा परिचालन र एजेण्डाबारे प्रशिक्षण दिने जनाइएको छ ।
त्यस्तै निर्वाचनलाई लक्षित गरी युथफोर्सलाई पुनर्गठन गर्न लागिएको छ । हाल संयोजक रहेका चन्द्र लामालाई नै यथावत गरेर युथफोर्सको कमिटीलाई पूर्णता दिइने संघका नेताहरुले जनाएका छन् । भेला आइतबारै सकिने बताइएको छ ।
भेलाको एमाले अध्यक्ष झलनाथ खनालले शनिबार भरतपुरमा उदघाटन गर्नुभएको थियो ।