धुलीखेलमा बन्दकर्ताले यात्रुसहितको बस जलाए

काठमाण्डु टुडे २०७० भदौ ३० गते ९:५९ मा प्रकाशित

Tamsalingकाठमाण्डु, ३० भदौ – नेकपा–माओवादी नेतृत्वको मोर्चाले आह्वान गरेको बन्द हिंसात्मक बन्दै गएको छ ।
बन्दकर्ताले यात्रुसहितको बसलाई काभ्रेको धुलीखेल बसपार्कमा आगजनी गरेका छन् । काठमाण्डुबाट मेलम्ची जाँदै गरेको बा २ ख ५६७२ नम्बरको बसमा उनीहरुले आगजनी गरेका हुन् । बन्दकर्ताले बसमा आगो सल्काएपछि यात्रु र चालकले भागेर ज्यान जोगाएका छन् । आगो ढिला सल्किएकाले सबै यात्रुहरु सकुशल भाग्न सफल भएको प्रहरीले जनाएको छ । आगजनीबाट बस पूर्णरुपमा क्षतिग्रस्त भएको छ । प्रहरी र स्थानीयबासीले करिब आधा घण्टापछि आगो निभाएका थिए ।

बनेपामा बन्दकर्ताले एक पत्रकारलाई निर्मम कुटपीटसमेत गरेका छन् । प्रेसलाई बन्दमा छुट दिने प्रतिबद्धता विपरित बन्दकर्ताले मोटरसाइकलमा सवार देवराम केसीलाई आक्रमण गरेका हुन् । आक्रमणबाट केसीको आँखा र टाउकोमा चोट लागेको छ । उनीहरुले केसी चढेको मोटरसाइकल पनि तोडफोड गरेका छन् । पत्रकारलाई कुटपीट गरेपछि स्थानीयबासीले बन्दकर्ताको प्रतिकार गरेका थिए । सो क्रममा बनेपाबाट प्रहरीले नेकपा–माओवादीका केन्द्रीय सदस्य चुडामणि शर्मा गौतम, नेकपा एकीकृतका केन्द्रीय सदस्य कान्छाराम तामाङलगायत ११ जनालाई पक्राउ गरेको छ । उनीहरुलाई धुलीखेलमा लगेर राखिएको छ ।

दोलखाका ब्यापारीहरुले बन्दको अवज्ञा गरेका छन् । चाडवाडको बेला बन्द गरेर व्यवसाय चौपट पारेको भन्दै चरिकोट बजारका स्थानीय ब्यापारीले बन्दकर्तालाई लखेटेर बजार खोलेका छन् । दोलखाको पर्यटकीय नगरी जिरी, मैनापोखरी, सिँगटीलगायतका मुख्य बजारसमेत खुलेका छन् । जबरजस्ती बन्द गराउन खोज्ने नेकपा–माओवादीका जिल्ला सेक्रेटरी प्रेम दर्नालसहित पाँचजनालाई प्रहरीले चरिकोटबाट पक्राउ गरेको छ ।

यथास्थितिमा मंसिर ४ को निर्वाचन बहिष्कार र गोलमेच सम्मेलनको माग गर्दै नेकपा–माओवादी नेतृत्वको मोर्चाले पूर्वघोषित आन्दोलनका कार्यक्रम अनुसार आइतबार ताम्सालिङ राज्यसमिति अन्तरगतका जिल्ला बन्द आह्वान गरेको छ । बन्दका कारण विहानैदेखि चितवन, मकवानपुर, धादिङ, सिन्धुली, रसुवा, नुवाकोट, काभ्रे, सिन्धुपाल्चोक, दोलखा र रामेछापको जनजीवन प्रभावित भएको छ । यातायातका साधन चलेका छैनन् भने शिक्षण संस्था पनि ठप्प छन् ।
बिहान ६ बजेबाट सुरु भएको बन्द साँझ ५ बजेसम्म जारी रहने नेकपा–माओवादीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us