निर्वाचन १० दिन पर सार्न उच्चस्तरीय समिति सहमत

काठमाण्डु टुडे २०७० भदौ ३१ गते १:५५ मा प्रकाशित

shital niwasकाठमाण्डु, ३० भदौ–  उच्चस्तरीय राजनीतिक समिति मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी निर्वाचनमा आउने सुनिश्चित भए ४ मंसिरमा घोषित संविधानसभा निर्वाचन बढीमा १० दिन पर सार्न सहमत भएको छ ।
राष्ट्रपति रामवरण यादवको अग्रसरतामा आइतबार शीतलनिवासमा बसेको सर्वदलीय बैठकमा समिति निर्वाचन बढीमा १५ मंसिरसम्म सार्न सहमत भएको हो । समितिले चैतमा निर्वाचन सार्ने वैद्य प्रस्ताव भने अस्वीकार गरेको हो । वैद्य माओवादीले शुक्रबार शीतलनिवासमै भएको बैठकमा निर्वाचन चैतमा सार्नुपर्नेसहित ४ बुँदे सार्त पेश गरेको थियो । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै काँग्रेस उपसभापति रामचन्द्र पौडेलले वैद्य माओवादी निर्वाचनमा भाग लिन तयार भए बढीमा १० दिनसम्म निर्वाचन पर सार्न आफूहरु मञ्जुर रहेको बताए । उनले सोमबार निर्णायक वार्ता हुने पनि जानकारी दिए । एमाले नेता रघुजी पन्तले वैद्य माओवादीले मंसिरको निर्वाचनमा सहभागी हुने प्रतिबद्धता नजनाएका कारण अन्य विषयमा छलफल नै हुन नसकेको उल्लेख गरे । निष्कर्षमा पुग्न नसकिए पनि छलफल सकारात्मक भएको प्रतिक्रिया नेताहरुले दिएका छन् । माओवादीले निर्वाचन मिति चैतमा सार्नुपर्ने, वर्तमान गैरदलीय सरकार विघटन गरी दलीय नेतृत्वमा सरकार गठन गरिनुपर्ने, गोलमेचसम्मेलनमार्फत भावी संविधानका अन्तरवस्तुमा पहिल्यै सहमति खोज्नुपर्ने लगायत माग गर्दै आएको छ ।
नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चालाई संविधानसभा निर्वाचनमा सहभागी गराउने प्रयासस्वरुप राष्ट्रपति यादवले बैठक बोलाएका हुन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us