
स्वीट्जरल्याण्डको जेनेभामा संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री जन केरी र उनका रुसी समकक्षी सेर्गेई लाभ्रोभबीचको वार्तामा प्रगति हासिल भैरहेको बताइएको छ।
एकजना अधिकारीले बीबीसीलाई बताएअनुसार, सिरियाको रासायनिक अस्त्र भण्डारको अनुमानका सम्बन्धमा दुवै पक्षले पहिले विद्यमान मतभेदको खाडल केहि सांघुरो पारेका छन्।
दुई दिनको वार्तापछि सिरियाको रासायनिक अस्त्रलाई के गर्ने भन्ने विषयमा दुवै पक्ष सहमति नजिक पुगेका बताइएको छ।
वक्तव्य
नयां योजनाको सिद्धान्त र ढांचाको उल्लेख सहितको एउटा संयुक्त वक्तव्य जारी गर्नुअघि अमेरिकी विदेशमन्त्री केरी र रुसी विदेशमन्त्री लाभ्रोभबीच एउटा अन्तिम चरणको वार्ता हुनेछ।
दुवै पक्षले आफूहरुबीच विद्यमान मतभेदलाई कुन हदसम्म समाधान गरे भन्ने कुरा वार्ता सम्पन्न नभएसम्म स्पष्ट भएको छैन।
तर प्रगतिको एउटा उल्लेखनीय संकेतका रुपमा, दुवै पक्षबीच सिरियाको रासायनिक अस्त्र भण्डारको आकारका बारेको अनुमानमा मतभेद कम भएको बताइएको छ।
राष्ट्र संघ
यसैबीच, संयुक्त राष्ट्र संघका महासचिव बान कि मुनले, सोमबार प्रकाशित हुने राष्ट्रसंघीय अस्त्र निरिक्षकहरुको प्रतिवेदनले, गत महिना सिरियाली राजधानी दमस्कस नजिकको क्षेत्रमा रासायनिक अस्त्र प्रयोग भएको पुष्टि गर्ने बताएका छन्।
राष्ट्र संघका महासचिवले सोमबार सुरक्षा परिषद समक्ष सिरिया प्रतिवेदन प्रस्तुत गर्दैछन्
तर उनले गत अगस्ट २१ मा भएको त्यस्तो रासायनिक अस्त्र हमलाका लागि को जिम्मेवार हुन सक्छ भन्ने बारेमा चाहिं कुनै टिप्पणी गरेका छैनन् किनकी त्यस्तो पत्ता लगाउनु उक्त प्रतिवेदनको अधिकार क्षेत्र भित्र पर्दैन।
कुटनीतिज्ञहरु भन्छन् राष्ट्रसंघीय प्रतिवेदनले कसैलाई जिम्मेवार ठहर गर्ने अपेक्षा नगरिएको भएपनि त्यो माटो, रगत, मलमूत्रका नमुनाका साथै चिकित्सक र प्रत्यक्षदर्शीहरुसंगको कुराकानीमा आधारित दस्तावेज हुनेछ।
जसको आधारमा को जिम्मेवार हुन सक्छ भनेर अनुमान गर्न भने सजिलो हुनेछ।
प्रमुख राष्ट्रसंघीय रासायनिक अस्त्र निरिक्षकले आफूहरुको प्रतिवेदन पूर्ण भएको पुष्टि गरेका छन्।
एकजना वरिष्ठ राष्ट्रसंघीय कुटनीतिज्ञका अनुसार उक्त प्रतिवेदनलाई सोमबार महासचिव बानले सुरक्षा परिषद समक्ष प्रस्तुत गर्नेछन्। बिबिसी