हाम्रा मतदाता आठ लाख :जनमुक्ति

काठमाण्डु टुडे २०७० भदौ २१ गते ६:१५ मा प्रकाशित

काठमाण्डु २१ भदौ–राष्ट्रिय जनमुक्ति पार्टीले आगामी संबिधानसभा निर्वाचनमा आफनो पार्टीले आठ लाख मत प्राप्त गर्ने आँकलन गरेको छ । ललितपुरमा शुक्रवार सकिएको केन्द्रीय समितिको बिस्तारित बैठकले प्रत्यक्षतर्फ दुई सय भन्दा बढी क्षेत्रमा उम्मेद्वारी दिन सकिने,२५ सीटमा अग्र स्थानमा रहने,अन्य ३५ सीटमा प्रतिस्पर्धात्मक अवस्था रहने,समानुपातिकतर्फ ८ लाखको हाराहारीमा मत प्राप्त हुने निष्कर्ष निकालेको छ ।
बैठकले निर्वाचनमा सेनाको प्रयोग गर्न उपयुक्त नहुने समेत ठहर गरेको छ । संविधानसभाको निर्वाचनबाट सकेसम्म कुनै पनि पक्षलाई बाहिर राख्न नहुने निर्णय गरेको छ । बैठकले निर्वाचन प्रयोजनका लागि राखिने म्यादी प्रहरीमा भूतपूर्व सैनिक तथा प्रहरी मात्र समावेश गरिनु पर्ने माग गरेको छ । बैठकले आगामी निर्वाचनमा पार्टीको हैसियत बलियो हुने ठहर गरेको छ ।
बैठकले पार्टी अध्यक्ष एम.एस.थापा र महासचिव केशव सूर्यवंशीद्वारा प्रस्तुत प्रतिवेदन पारित गरेको छ । आगामी निर्वाचन प्रयोजनका लागि अध्यक्ष एम.एस.थापाको संयोजकत्वमा वरिष्ठ नेताहरु राम बहादुर तुम्बाहाम्फे, डि.के.बुद्धिष्ट तामाङ्ग लगायतका केन्द्रीय नेताहरु सम्मिलित ‘केन्द्रीय निर्वाचन परिचालन समिति’ समेत गठन गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us