जसले रक्सीका लागि ५ महिने छोरा बेचे

काठमाण्डु टुडे २०७० भदौ २१ गते ५:०० मा प्रकाशित

राजविराज, २१ भदौ– सप्तरीको नकटी रायपुर गाविस–४ हरिरावाका गजेन्द्र सरदारले आफ्नो पाँच महिने छोरालाई २० हजार रुपैयाँमा बेचेका छन् । ‘हाम्रो गन्तव्य, मानव बेचबिखनको अन्त्य’ भन्ने मूल नाराका साथ देशभरि मानव बेचबिखन तथा ओसारपसार विरुद्धको सातौँ राष्ट्रिय दिवस मनाइरहेको बेला रक्सी पिउने पैसाका लागि उनले आफ्नै नाबालक छोरालाई बेचेका हुन् ।

नाबालक शिशु किन्ने राजविराज–९ का ३८ वर्षीय जाकिर अन्सारी र उनकी पत्नी ३० वर्षीया कोरेसा खातुनलाई प्रहरीले विहीबार राती पक्राउ गरेको छ । अन्सारी दम्पतीको बयानका आधारमा शिशु किनबेचको प्रवन्ध मिलाइदिने नकटी रायपुर–४ हरिरावाका ३० वर्षीय लालमोहम्मद राइनलाई पनि पक्राउ गरेको प्रहरी नायब निरीक्षक विश्वनाथ यादवले जानकारी दिए ।

राइनले छिमेकी सरदारले छोरा बेच्न खोजेपछि निःसन्तान रहेका अन्सारी दम्पतीकहाँ शिशु पुर्याइदिएको प्रहरीसमक्ष बयान दिएका छन् । हाल अन्सारी दम्पती र राइन शिशुसहित जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा छन् । शिशुले आमाको दूध खान नपाएपछि स्वास्थ्य स्थिति बिग्रिँदै गएको छ ।

आफ्नै सन्तान बेच्ने सरदारविरुद्ध प्रहरीले मानव बेचबिखनको मुद्दा चलाउने जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us