बिप्लवले भनेः ‘माओवादी फुटेको छैन’

काठमाण्डु टुडे २०७० भदौ २० गते १५:५५ मा प्रकाशित

विराटनगर, २० भदौ– मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीका सचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले दुई माओवादी फुटेको भ्रममा नपर्न सबैलाई आग्रह गरेका छन् ।
natra bikram chandनिर्वाचनविरुद्ध विराटनगरमा बिहीबार भएको लाठी जुलुसलाई सम्बोधन गर्दै उनले माओवादी नफुटेको दाबी गरे । उनले माओवादी एक हुने अवस्थामा पुग्न लागेको खुलासासमेत गरे । ‘बाहिरबाट झट्ट हेर्दा माओवादी फुटेजस्तो देखिए पनि भित्रिरुपमा फुटेको छैन’, चन्दले भने, ‘काँग्रेस–एमाले वा पत्रकारहरु कोही पनि भ्रममा नपर्दा हुन्छ ।’

उनले काँग्रेस र एमालेका कारण माउ पार्टी एकीकृत माओवादीसँग आफूहरुको कुरा नमिलेको बताए । चन्दले दुईमध्ये जुनसुकै पार्टीमा रहेका कार्यकर्ता र जनतालाई एउटै बुझ्न पनि भने ।

‘चाहे प्रचण्ड–बाबुरामका पार्टीमा होउन, चाहे हाम्रो रहेका कार्यकर्ता होउन’, चन्दले भने, ‘दुवै माओवादी हुन्, उनीहरुमा केही फरक छैन, कोही भ्रममा नपरे हुन्छ ।’ मुलुकको राजनीतिक अवस्थाका कारण माओवादी एक हुने वातावरण बन्दै गएको उल्लेख गरे ।

अर्को एक फरक प्रसंगमा उनले माओवादीले विगतमा पनि बन्दुक उठाएको चर्चा गर्दै फेरि बन्दुक उठ्न सक्ने चेतावनी दिए । उनले गोलमेच सम्मेलन र सरकार परिवर्तन भए आफ्नो पार्टी निर्वाचनका लागि तयार रहेको दोहो¥याए ।

चन्द एक साताअघि सुटुक्क चीन गएर फर्किएका थिए । त्यसयता उनले पार्टीभित्र एकता वा विद्रोमध्ये एउटा विकल्पमा जानुपर्ने बताउँदै आएका छन् । चन्दले छिट्टै बस्ने पोलिट्ब्युरो बैठकमा त्यसबारे लिखित प्रस्ताव पेस गर्ने तयारी गरेको उनी निकट एक केन्द्रीय सदस्यले काठमाण्डु टुडेलाई जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us