सभासद्का लागि सिफारिस भए १५ विद्यार्थी नेता

काठमाण्डु टुडे २०७० भदौ २० गते १४:५८ मा प्रकाशित

काठमाण्डु, २० भदौ–एकीकृत माओवादीले १५ जना विद्यार्थी नेतालाई संविधानसभा सदस्यको उम्मेद्वारका लागि सिफारिस गरेको छ । अखिल क्रान्तिकारीले बिहीबार काठमाण्डुमा पत्रकार सम्मेलन गरी आफनो संगठनबाट उम्मेदवार सिफारिस भएका नेताहरुको सूची सार्वजनिक गरेको हो ।
annisuअखिल क्रान्तिकारीका अध्यक्ष हिमाल शर्मा  काठमाण्डु–६ र बाग्लुङ्ग २ बाट संबिधानसभा सदस्यका लागि सिफारिस भएका छन भने उपाध्यक्ष जागृत रायमाझी मकवानपुर –२ र अर्का उपाध्यक्ष रमेश मल्ल काठमाडौं –२ बाट सिफारिस भएका छन् । त्यसै गरी उपाध्यक्ष निशा शाह सिरहा –५ र अर्का उपाध्यक्ष सुदिप कुँवर पर्वत – १ बाट संविधानसभा सदस्यका लागि उम्मेदवार सिफारिस भएका छन् । यसैगरी महासचिव विन्दमान विष्ट सुर्खेत –३ बाट, सचिव नरेन्द्र न्यौपाने – बाँके १ बाट, सचिव अनिल शर्मा काठमाडौं –१ बाट, सचिव तेजकुमारी पौडेल कास्की –३ बाट, सचिव अइन्द्र वेघा सुनसरी – १ बाट,सचिव ललित घलान मकवानपुर – ३ बाट संविधानसभा सदस्यको उम्मेदवारका लागि सिफारिस भएका छन् ।

सचिवालय सदस्य रमेश धामी  कैलाली – ६ बाट, सचिवालय सदस्य गंगाराम तिमिल्सिना सुर्खेत –२ सचिवालय सदस्य राजिव घिमिरे वाग्लुङ्ग – ३ बाट र सचिवालय सदस्य मदन चुडाल सुनसरी –२ सिफारिस भएका छन् । अनेरास्ववियु (क्रान्तिकारी) केन्द्रीय पदाधिकारीको बुधवार बसेको बैठकले संविधानसभा चुनावलाई स्वतन्त्र, निष्पक्ष र  भयरहित वातावरणमा सम्पन्न गर्नका लागि ‘शिक्षण संस्थामार्फत जनताका एजेन्डा जनताकै घरसम्म पुर्याउने र जनताको घरदेखि मतदानकेन्द्रसम्म मतदाता सुरक्षा स्वयम्सेवक परिचालन गर्ने’ आम विद्यार्थीहरुको माध्यमबाट आफ्ना अभिभावक मतदातासम्म निर्वाचनमा एकीकृत नेकपा माओवादीलाई विजयी गराउन अनुरोध पत्र प्रेसित गर्ने निर्णय गरेको छ ।
बैठकले पूर्वाञ्चल विश्वविद्यालयमा परीक्षा शाखासमेत तालाबन्दी गरी विद्यार्थीको भविष्यमा नै तालाबन्दी हुने गरी भएका गतिविधिप्रति बैठक घोर निन्दा गर्दै जिम्मेवार पदाधिकारीको गैरजिम्मेवारीपन, सरकारको निरिहता र स्थानीय राजनीतिक दलहरुको अराजक गतिविधिले थिलोथिलो भएको विश्वविद्यालयलाई पुनर्जीवन दिन, अबिलम्ब र निःशर्त पढाई र परीक्षाको बातावरण तयार गर्न सबै सरोकारवाला पक्षलाई विद्यार्थीको हितलाई केन्द्रमा राखी विश्वविद्यालयको अबरोध सम्वादमार्फत हल गर्न आग्रह गरेको छ ।
बैठकले पोखरा,मध्यपश्चिमाञ्चललगायतका सबै विश्वविद्यालयमा भएका तालाबन्दीका श्रृङ्खलालाई रोक्न, आन्दोलनको निर्विकल्प माध्याम तालाबन्दीलाई नदेख्न, समस्यालाई वार्ता र सम्बादनको माध्यामबाट हल गरी विश्वविद्यालयमा शैक्षिक क्यालेण्डर निर्माण गरी लागू गर्न सबै विश्वविद्यालयका सरोकारवाला निकायले गम्भीर ध्यानाकर्षण गराएको छ ।
विश्वविद्यालयमा भईरहेको राजनीतिक भागवण्डाको संस्कृतिलाई अन्त्य गरी ‘हाम्रालाई राम्रो होइन राम्रालाई हाम्रो’ भन्ने संस्कृतिलाई स्थापित गर्न र विश्वविद्यालयको प्राज्ञिक स्वायत्तताको सम्मान गर्न सरकार र सम्पूर्ण राजनैतिक दलसँग बैठकले जोडदार माग गरेको छ ।
बैठकले मेडिकल कलेजहरुको एमविविएस कार्यक्रम, सिटिइभिटीको नर्सिङ कार्यक्रम र सबै इञ्जिनियरिङ कलेजहरुको शुल्क निर्धारणको लागि सरकारको तर्फबाट तयार गरिएका प्रतिवेदनका आधारमा तथा त्रिविवि लगायत सबै विश्वविद्यालय अन्र्तगत संञ्चालित बीबीए,एमबीएलगायतका व्यवस्थापन र अन्य प्राविधिक कार्यक्रमको समेत शिक्षण संस्थाको पूर्वाधार र मापदण्ड तथा शुल्क निर्धारण गरी कार्यान्वयन गर्न र हचुवाको भरमा प्रत्येक शैक्षिकसत्रमा शुल्क बृद्धिको भार अभिभावक तथा विद्यार्थीमा नथोपर्न सरोकारवाला पक्षको गम्भीर ध्यानाकर्षण गराएको छ ।
गर्भावस्थामै कुपोषणको शिकार बनेको खुला विश्वविद्यालय स्थापना अभियानलाई अगाडि बढाउन सरकारको तर्फबाट तुरुन्त खुला विश्वविद्यालयको कानुनी ढोका खोल्न जोडदार माग गर्दै बैठकले विद्यार्थीलाई यातायात भाडामा ४५ प्रतिशत र ग्यासमा प्रदान गर्न भनि गरिएको सहमतिलाई पूर्ण कार्यान्वयन गर्न माग गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us