प्रहरी हस्तक्षेपबाट आधा दर्जन शिक्षक घाइते

काठमाण्डु टुडे २०७० भदौ २० गते ९:५४ मा प्रकाशित

काठमाण्डु, २० भदौ – सिंहदरवार अगाडी धर्ना दिन खोज्दा अस्थायी शिक्षकहरुलाई प्रहरीले हस्तक्षेप गरेको छ । हस्तक्षेपका कारण अस्थायी शिक्षक संघर्ष समितिका सचिव नारायण गौतमलगायत आधा दर्जन शिक्षक घाइते भएका छन् । केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सिंहदरबार अगाडी धर्ना दिने पूर्वनिर्धारित कार्यक्रमअनुसार भद्रकालीमा आइपुग्दा प्रहरीले हस्तक्षेप गरेको थियो । प्रहरीले महिलाहरुलाई समेत लछारपछार गरी घाइते बनाएको संघर्ष समितिका अध्यक्ष रामचन्द्र अधिकारीले बताए । उनले धर्नाको कार्यक्रम शुक्रबार पनि जारी रहने बताए ।

शिक्षक सेवा आयोगले गत पुस २० मा विज्ञापन गर्दा २०६३ वैशाख १० सम्मका दरबन्दीहरु यथावत् राखी सो पछिका दरबन्दीहरुमा मात्र खुल्ला विज्ञापन गरेको विरोधमा समितिले आन्दोलन गर्दै आएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us