संविधान बनेमात्रै सहिदको सम्मान : श्रेष्ठ

काठमाण्डु टुडे २०७० भदौ २० गते ९:३३ मा प्रकाशित

Narayankajiकाठमाण्डु, २० भदौ– एकीकृत नेकपा माओवादीका नेता नारायणकाजी श्रेष्ठले पुँजीवादी जनवादी क्रान्ति सम्पन्न नहुँदासम्म जनयुद्ध र जनआन्दोलनका सहिद परिवारले उचित क्षतिपूर्ति पाउन नसक्ने बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा विहीबार आयोजित जनयुद्धका सहिदद्वय शेरमान कुँवर (विशाल) र मोहनचन्द्र गौतम (कुमार)को स्मृति दिवसलाई सम्बोधन गर्दै उनले बताए । जनताको संविधान बनाउन सके सहिदको सपना साकार हुने उनको भनाई थियो । आफ्नो पार्टीले पटकपटक सरकारको नेतृत्व गरे पनि सरकारमा सहभागी अन्य दलको असहयोगका कारण सहिद परिवार, द्वन्द्वपीडित, बेपत्ता परिवार र घाइते तथा अपाङ्ग परिवारलाई उचित राहत दिन नसकिएको उनले स्वीकार गरे ।

कार्यक्रममा पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव हितराज पाण्डेले सहिदहरुको बाँकी सपना पूरा गर्न पार्टी प्रतिबद्ध रहेको बताए । सहिद परिवार, बेपत्ता परिवारलाई उचित सम्बोधन गर्न पार्टीको तर्फबाट केही कमजोरी भए पनि आगामी दिनमा त्यसो हुन नदिने उनले प्रतिबद्धता जनाएका छन् ।

तत्कालीन नेकपा माओवादीका केन्द्रीय सदस्यद्वय कुँवर र गौतमलाई विक्रम संवत् २०६१ भदौ २० गते तत्कालीन शाही सेनाले सर्लाहीको धन्छवारमा गिरफ्तार पछि हत्या गरेको एकीकृत माओवादीको भनाइ छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us