
सिरहा, २० भदौ– पूर्वपश्चिम हुलाकी सडकको सिरहास्थित औरही खण्ड गागन नदीको बाढीले भत्काएपछि २७ गाविस सदरमुकामबाट सम्पर्कबिच्छेद भएको छ । नदीले बहाव परिवर्तन गरेर औरही–९ मा सडक बगाएको ११ वर्ष बितिसक्दा पनि मर्मत गरिएको छैन ।
सकड भत्केकाले पूर्वी क्षेत्रका जानकीनगर, कचनारी, नवराजपुर, इनर्बा, भगवानपुर, नहरारिगौल, मझौरा, इटहर्बा, सोठीयाइन, मौवाही, तेनुवापट्टि, जिझौल, तुलसीपुर, कविलासी, कुशहा लक्ष्मीनियालगायत गाविसका बासिन्दाको सदरमुकामबाट सम्पर्क बिच्छेद भएको हो । पहिले १५ किलोमिटर दुरी पार गरेपछि सदरमुकाम पुग्न सकिनेमा सडक भत्किएपछि आजभोली झण्डै एकसय किलोमिटर हिँड्नुपर्छ ।
दैनिक उपभोग्य सामग्रीका लागि समेत भारतीय बजार लदनिया, पिप्राही र लौकहामा निर्भर हुनुपरेको छ । सडक भत्केकाले बालबालिका, वृद्धवृद्धा र महिलालाई आवतजावतमा समेत समस्या भएको छ ।
अहिले नदी बगिरहेको ठाउँमा नै पुल निर्माण गर्न स्थानीयले माग गरेका छन् ।