‘संवैधानिक ब्यवस्थाको गोलमेच अनिवार्य’

काठमाण्डु टुडे २०७० भदौ २० गते ७:५१ मा प्रकाशित

CP-Gajurelकाठमाण्डु २० भदौ – नेकपा–माओवादी उपाध्यक्ष सीपी गजुरेलले संबैधानिक ब्यवस्था विनाको गोलमेच सम्मेलन आफूहरुलाई स्विकार्य नहुने स्पष्ट पारेका छन् । रिपोर्टर्स क्लब नेपालले विहीबार गरेको साक्षात्कारमा उनले दलहरुले सहमति गरेजस्तो संबैधानिक आधार विनाको सर्वदलिय सम्मेलन आफूहरुलाई स्विकार्य नहुने स्पष्ट पारे । गोलमेच सम्मेलन अघि संविधानमा संसोधन गरेर त्यसलाई उल्लेख गर्नुपर्ने उनको भनाई छ ।

गजुरेलले भने, ‘दलहरुले आपसी सहमतिको आधारमा गरिने प्राईभेट गोलमेच हामीहरुलाई मान्य छैन । संबैधानिक ब्यवस्था सहितको गोलमेच हुनु पर्छ । नभए कसैले पनि त्यसको निर्णय स्विकार्दैनन् ।’

उनले दलहरुको सहमतिमा राष्ट्रपतिले सहजीकरण गरेर गोलमेच सम्मेलनको आह्वान गर्नु पर्ने स्पष्ट पार्दै गोलमेच सम्मेलन अघि निर्वाचनको मिति सार्ने विषयमा राजनीतिक समितिमा रहेका दलहरुले मनस्थिति बनाउनु पर्नेमा धारणा राखे । गजुरेलले अहिले विवादित रहेको निर्वाचनको मिति र सरकारको विषयमा पनि गोलमेच सम्मेलनबाटै टुङग्याउनु पर्नेमा जोड दिए ।

आफूहरुसँगको सहमति विना निर्वाचन हुनै नसक्ने ठोकुवा गर्दै गजुरेलले नोमिनेसनको दिनसम्म पुग्दा निर्वाचनको मिति सर्ने दावी गरे । उनले भने, ‘मनोनयन पत्र दर्ता गर्न सक्ने अवस्था नै हुँदैन । त्यो समयसम्म निर्वाचनको मिति पनि सर्छ । हाम्रो बहिस्कारपछि निर्वाचन हुनै सक्दैन भन्ने निश्चित छ ।’

सेना प्रयोग गरेर जवरजस्ती निर्वाचन गर्न खोजे मुलुकमा निर्वाचन भन्दा पनि द्वन्द्व हुने स्पष्ट पार्दै गजुरेलले सेना प्रयोग गरेर गरिने निर्वाचनलाई कसैले पनि मान्यता नदिने ठोकुवा गरे । ‘सेना परिचालन गर्नु भनेको संकटकाल लगाउनु हो,’ उनले भने ।

एकीकृत नेकपा माओवादीसँग पार्टी एकता सम्भव नरहेको स्पष्ट पार्दै गजुरेलले सबै क्रान्तिकारी नेता र कार्यकर्ताहरुले छाडेको देखेपछि प्रचण्डले एकताको राग अलाप्न थालेको टिप्पणी गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us