सात पूर्वप्रधानमन्त्री एकैठाउँ भेला

काठमाण्डु टुडे २०७० भदौ २० गते ४:१८ मा प्रकाशित

पर्सा, २० भदौ– आर्थिक क्रान्तिको मार्गचित्र तयार पार्न पर्साको वीरगन्जमा विहीबार ‘नेपाल लीडरशीप समिट’ आयोजना हुँदै छ । वीरगन्ज उद्योग वाणिज्य संघले आयोजना गरेको कार्यक्रममा नेपालका सातजना पूर्वप्रधानमन्त्री तथा शीर्ष नेताहरु पनि सहभागी हुँदैछन् ।

वीरगन्जको जैन तेरापन्थ भवनमा दिउँसो हुने कार्यक्रममा पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’, डा. बाबुराम भट्टराई, शेरबहादुर देउवा, झलनाथ खनाल, माधव कुमार नेपाल, सूर्यबहादुर थापा र लोकेन्द्र बहादुर चन्द सहभागी हुन लागेका हुन् । कार्यक्रममा उनीहरुले अबको १० बर्षभित्र नेपाललाई आर्थिक समृद्धिमा पुर्याउन राजनीतिक प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्नेछन् । ‘आर्थिक क्रान्तिको मार्गचित्र : भिजन २०८०’ नाम दिइएको सो कार्यक्रममा अर्थविद र व्यवसायीहरुले पनि नेपालको आर्थिक अवस्था र सुधारका उपायबारे धारणा राख्ने आयोजक वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अशोक तिवानीले जानकारी दिए ।

कार्यक्रमको लागि देशका विभिन्न क्षेत्रबाट अर्थविदहरुबाट संकलित सुझावहरुको भिडियो क्लीप प्रस्तुत गर्ने र पूर्वप्रधानमन्त्रीहरुबाट आगामी आर्थिक लक्ष्यबारे धारणा लिने कार्यसूची छ । पूर्वप्रधानमन्त्रीहरुको आगमनलाई ध्यान दिदै वीरगन्जको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us