लोकमानविरुद्धका रिटलाई अग्राधिकार

काठमाण्डु टुडे २०७० भदौ १९ गते ९:५९ मा प्रकाशित

supreme-court-of-Nepalकाठमाण्डु, १९ भदौ–अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीविरुद्ध परेका दुईवटा रिटलाई सर्बोच्च अदालतले प्राथमिकता दिदै एकैसाथ हेर्ने भएको छ ।

कार्कीलाई अख्तियार प्रमुखमा सिफारिस गर्ने उच्चस्तरीय समितिको निर्णयविरुद्ध गत चैत ७ गते र सिफारिसको आधारमा नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध बैशाख २९ गते अधिवक्ता ओमप्रकाश अर्यालले दुईवटा रिट दायर गरेका थिए ।
न्यायाधीशद्वय प्रकाश वस्ती र तर्कराज भट्टको इजलाशले एउटै प्रकृतिका दुवै रिटलाई अग्राधिकार दिदै एकैपटक पूर्ण सुनुवाई गर्न बुधबार आदेश दिएको हो । कार्कीविरुद्ध परेको रिटमा पटक–पटक सुनुवाई सर्दै आएको छ ।

२०६२/६३ को दोस्रो जनआन्दोलनताका तत्कालीन शाही सरकारका मुख्य सचिव रहेका कार्कीविरुद्ध आन्दोलन दवाउन भुमिका खेलेको आरोप लाग्दै आएको छ । जनआन्दोलनमा धनजनको क्षति, राष्ट्रिय ढुकुटी, सत्ता, शक्ति र पद दुरुपयोग, मानव अधिकार उल्लंघन लगायत कार्य छानबिन गर्न पूर्वन्यायाधीश कृष्णजंग रायमाझीको अध्यक्षतामा गठित उच्चस्तरीय आयोगको प्रतिवेदनवमोजिम यसअघि अख्तियारले कार्कीलाई सेवाबाट हटाउन र भविष्यमा सरकारी जिम्मेवारी नदिन सरकारलाई निर्देशन दिएको थियो । तर, मुख्य चार राजनीतिक दलको सिफारिस अनुसार गत बैशाख २२ गते बसेको संवैधानिक परिषदको बैठकले कार्कीलाई अख्तियार प्रमुखमा नियुक्त गर्न सरकारलाई सिफारिस गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us