सात पूर्वप्रधानमन्त्री वीरगन्जमा

काठमाण्डु टुडे २०७० भदौ १९ गते ९:३४ मा प्रकाशित

काठमाण्डु, १९ भदौ– बिभिन्न समयमा देश हाँकेका नेपालका सातजना पूर्वप्रधानमन्त्रीहरु पर्साको वीरगन्जमा भेला हुँदैछन् । काठमाडौं उपत्यकाबाहिर यतिधेरै पूर्वप्रधानमन्त्रीहरु एकैठाउँ भेला हुन लागेको सम्भवतः यो पहिलोपटक हो ।

नेपालको आर्थिक क्रान्तिको मार्गचित्र तयार पार्न भन्दै उद्योग वाणिज्य महासंघले वीरगन्जमा गर्न लागेको ‘लीडरसीप समिट’मा पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’, डा. बाबुराम भट्टराई, शेरबहादुर देउवा, झलनाथ खनाल, माधव कुमार नेपाल, सूर्यबहादुर थापा र लोकेन्द्र बहादुर चन्द सहभागी हुन लागेका हुन् । कार्यक्रमको नाम ‘आर्थिक क्रान्तिको मार्गचित्र भिजन–२०८०’ दिइएको छ ।

तेरापन्थ भवनमा हुने कार्यक्रममा पूर्वप्रधानमन्त्रीहरुले आगामी आर्थिक मार्गचित्रबारे आ–आफ्नो धारणा राख्ने छन् । कार्यक्रममा अर्थविद र व्यवसायीहरुले पनि धारणा राख्ने आयोजकले जनाएको छ । पूर्वप्रधानमन्त्रीहरुको आगमनलाई ध्यान दिदै जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

कार्यक्रमको सबै तयारी पूरा भएको आयोजक उद्योग वाणिज्य महासंघले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us