सभासद बन्न खोज्दै ‘व्यवसायिक’ पत्रकार

काठमाण्डु टुडे २०७० भदौ १९ गते ९:१० मा प्रकाशित

काठमाण्डु १९ भदौ–अरुलाई व्यवसायिक पत्रकारिताको पाठ सिकाउनेहरुले फरक फरक राजनीतिक दलबाट संबिधानसभा सदस्यका लागि आफनो नाम सिफारिस गराएका छन ।

नेकपा एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारीले बर्तमान अध्यक्ष राजेन्द्र अर्याल,सल्लाहकार शम्भु श्रेष्ठ, निवर्तमान अध्यक्ष गगन बिष्ट, अग्रज पत्रकारद्धय गोपाल थपलिया र कौशल चेम्जोङलाई सिफारिस गरेको छ । चौतारीको बुधवार बसेको सचिवालय बैठकले आगामी संबिधानसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवार प्रेस चौतारी नेपालका तर्फबाट सिफारिस गरिएको महासचिव माधव नेपालले बताए । माधव नेपालका अनुसार नेकपा एमालेले माग गरे अनुरुप पाँच जनाको नाम सिफारिस गरिएको हो ।
काँग्रेस निकट पत्रकारहरुको संगठन नेपाल प्रेस यूनियनले पत्रकार महासंघका पूर्व सभापति धमेन्द्र झा,हरिहर बिरही,किरण पोखरेल लगायतलाई संबिधानसभा सदस्यका लागि सिफारिस गर्ने तयारी गरेको छ ।
नेपाली काँग्रेस सिन्धुपाल्चोकले ३ नम्बर क्षेत्रका लागि नेपाल पत्रकार महासंघका पूर्व सभापति,काँग्रेस महासमिति सदस्य,फ्रिडम फोरमका सञ्चालक तारानाथ दाहाललाई सिफारिस गरेको छ भने काँग्रेस काठमाण्डुले बिकल्प साप्ताहिकका सम्पादक दामोदर दवाडीलाई सिफारिस गरेको छ ।

नेपाली काँग्रेस धादिङले रिपोटर्स क्लबका सदाबहार अध्यक्ष ऋषि धमलालाई क्षेत्र नम्बर २ बाट संबिधानसभा सदस्यका लागि सिफारिस गरेको छ ।

काँग्रेसले पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य तथा रुपन्देहीका अध्यक्ष हरि लम्साललाई रुपन्देही क्षेत्र नम्बर ४ बाट संबिधानसभा सदस्यका लागि सिफारिस गरेको छ ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us