सोलु कांग्रेसबाट दुई थरि नाम सिफारिस

काठमाण्डु टुडे २०७० भदौ १९ गते ८:३५ मा प्रकाशित

सल्लेरी, १९ भदौ– नेपाली कांग्रेस सोलुखुम्बुमा उम्मेदवार सिफारिसमा चरम विवाद भएपछि दुई वटा अलग अलग नाम सिफारिस गरि केन्द्रमा पठाइएको छ । केन्द्रीय सदस्य बलबहादुर केसीको नाम सभापति आङगेलु शेर्पा पक्षले सिफारिस नगरेपछि जिल्ला सचिव भोजराज कार्की पक्षले बुधवार अर्को उमेदवारको नामावली केन्द्रमा पठाएको हो ।

सभापति शेर्पा पक्षले भने मंगलवार नै उमेदवारको नाम सिफारिस गरेको थियो । सभापति शेर्पा पक्षले प्रत्यक्ष तर्फ सभापति शेर्पा, खिलराज बस्नेत र मंगलसिंह तामाङको नाम सिफारिस गरेको थियो । यसभन्दा अघिल्ला प्रतिनीधिसभा सदस्यको निर्वाचनमा लगातार सांसद बनेका केन्द्रीय सदस्य बलबहादुर केसीको नाम सभापति शेर्पा पक्षले सिफारिस नगरेकाले अर्को नामावली सिफारिस गरिएको जिल्ला सचिव भोजराज कार्कीले जानकारी दिए । सचिव कार्की पक्षधरले भने प्रत्यक्ष तर्फ बलबहादुर केसी, रामबहादुर बस्नेत, प्रेमबहादुर थापामगरको नाम सिफारिस गरेको छ ।

त्यसैगरि सचिव कार्की पक्षले समानुपातिकमा श्रीलाल थापामगर, बिनोदकुमार बस्नेत, भोजराज कार्की, जीतबहादुर राई, खिन्डी ल्यामु शेर्पा धनराज राई, प्रेमा तामाङ, पदमबहादुर नेपाली, मनोज खड्का र सरला नाथेनीको नाम सिफारिस गरेको छ । कार्कीका अनुसार खड्का र नाथेनी सहिद परिवारका तर्फबाट समानुपातिकमा उमेदवार बनाइएका हुन् ।

समानुपातिक तर्फ शेर्पा पक्षले गोकर्ण राई, पुरुषोत्तम बस्नेत, भुपराज बस्नेत, छत्रध्वज बस्नेत, टंकीमाया बस्नेत लगायत नौं जनाको नाम सिफारिस गरेको छ । नेपाली कांग्रेसको पूर्व प्रेस बिभाग प्रमुख पुरुषोत्तम बस्नेत अघिल्लो संविधानसभामा समेत समानुपातिक तर्फबाट सभासद रहेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us