आज मतदाता सूचीमा नाम लेखाउने अन्तिम दिन

काठमाण्डु टुडे २०७० भदौ ७ गते ६:०६ मा प्रकाशित

काठमाण्डु, ७ भदौ– फोटोसहितको मतदाता सूचीमा नाम लेखाउन निर्वाचन आयोगले थप गरेको एक साताको समय आज सकिँदैछ ।
ellectoin commitionकरिब ५५  लाख मतदाता छुटेको भन्दै दलहरूले पुन: मतदाता नामावली अद्यावधि गर्न आग्रह गरेपछि आयोगले गत भदौ १ देखि आजसम्म नामावली दर्ताको समय थप गरेको थियो । असार मसान्तमा सकिएको पहिलो चरणको नामावली संकलनमा एक करोड २३ लाख ८ हजार मतदाताले नामावलीमा नाम लेखाएका छन् ।
आगामी मंसिर चार गते हुने संविधानसभा निर्वाचन प्रयोजनका लागि फोटोसहितको मतदाता नामावली संकलन गर्ने अन्तिम दिन आज देशभरका मतदाता नामावली संकलन केन्द्रमा नाम दर्ता गर्नेहरुको भीड लागेको छ । नाम लेखाउनेको सबैभन्दा बढी भीड काठमाडौँ उपत्यकामा लागेको निर्वाचन आयोगले जनाएको छ । काठमाडौँको बबरमहलस्थित जिल्ला निर्वाचन कार्यालयमा बिहानैदेखि नाम दर्ताको क्रम जारी छ ।
साँझ ५ बजेभित्र निर्वाचन कार्यालय प्रवेश गर्नेका लागि राति अबेरसम्म पनि नाम दर्ताको व्यवस्था मिलाएको निर्वाचन आयोगले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us