
टिप्पणी
काठमाडौ: आफनो बिदेश नीतिमा परिमार्जन गर्न लागेको दक्षिणी छिमेकी भारतले नेपालमा राजनीतिक स्थायित्वलाई प्राथमिकता दिन थालेको छ । दक्षिण एशियामा उत्तरको छिमेकी चिनिया चासो बढन थालेपछि भारतले नेपाली नेताहरुलाई बोलाएर राजनीतिक स्थायित्व र आर्थिक समृद्धिमा केन्द्रित हुन सुझाव दिनु उत्तरतिर मोडिन खोजेकालाई दक्षिणतिर लोभिन उत्प्रेरित गर्नु पनि हो ।
आगामी मंसिर ४ गतेका लागि घोषित संबिधानसभा निर्वाचन हुनु पर्नेमा भारतले जोड दिनु नेपालमा राजनीतिक स्थायित्व नहुँंदा आफनो मुलुकमा पर्ने सुरक्षा चिन्ता पनि हो । भारतीय प्रधानमन्त्री डा मनमोहन सिंहका राष्ट्रिय सुरक्षा सल्लाहकार शिवशंकर मेननले नेपालमा स्थायित्व र समृद्धि नहुँदा भारतमाथिको सुरक्षा खतरा पनि कायमै रहने स्मरण गराउदै त्यसतर्फ नेपाली काँग्रेसका सभापति सुशिल कोइरालाको ध्यानाकर्षण गराउनुले पनि त्यहि बिषयलाई पुष्टी गर्छ ।
भारतले नेपालमा नेपाली काँग्रेस र एकीकृत माओवादी मध्ये कुन दल ठूलो होला भन्ने आँकलन गर्न नसकिरहेको वेला एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड,नेपाली काँग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवा,नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल हुदै अहिले काँग्रेस सभापति सुशिल कोइरालालाई नयाँ दिल्ली बोलाएर भेटवार्ता गरेको छ । जुनसुकै दल ठूलो भएपनि आफूलाई सन्तुलनमा राख्न भारतले प्रमुख ठूला दलका नेतालाई बोलाएर उनीहरुका बिषय सुन्ने र आफनो बिषय सम्झाउने गरिरहेको छ । पूरानो शक्ति काँग्रेस र उदियमान शक्ति एकीकृत माओवादी दुवै दललाई सन्तुलनमा राख्नु भारतका लागि बाध्यात्मक अवस्था हो । बढदो चिनिया चासो र आफनो आँखाबाट हेर्दै आएको अमेरिकामा उसकै आँखाले नेपाललाई हेर्नु पर्ने लम्बिङ बढिरहदा नेपाल माथि रहदै आएको सन्तुलन गुम्न नदिनका लागि पनि भारतीय नेताहरुले नेपाली नेताहरुसँग सम्वाद बढाएका हुन ।
मंसिर ४ गते संबिधानसभाको दोस्रो निर्वाचन भएमा काँग्रेस र एकीकृत माओवादीको सम्झौताको संबिधान बन्नेमा भारतीय अधिकारी बिश्वास राख्छन । त्यो सम्झौताको सम्बैधानिक प्रक्रियालाई सहयोग नगर्ने अवस्था भारतका लागि रहने छैन । अघिल्लो बिघटित संबिधानसभाले संबिधान बनाएको भए त्यो माओवादी छापको संबिधान हुन्थ्यो भन्ने भारतीय बुझाइ थियो । भारतीय अधिकारीको बुझाइमा मोहन बैद्य विनाको एकीकृत माओवादीलाई काँग्रेससँग सम्झौता गराउन कठिन हुने छैन ।
नेपालसहित दक्षिण एशियामा बढदै गएको चिनिया प्रभाव भारतका लागि चिन्ताको बिषय बन्दै गएको छ । चिनिया स्टेट काउन्सिलर याङ जेइचीकोले दुई दिने नेपाल भ्रमण गर्नु,भारतीय बिदेश मन्त्री सल्मान खुर्सिद हतारमा काठमाडौ पुगेर फर्कनु,खुर्सिदा नेपालमा आउँदा बैद्य चिनिया बेइजिङ पुग्नुले नेपालमा दुवै मुलुकले उत्तिकै चासो राखिरहेको बुझन कठिन छैन । नेपालमा १७ बर्षदेखि भारतीय प्रधानमन्त्रीको भ्रमण हुन सकेको छैन तर नेपालबाट झलनाथ खनाल बाहेक सबै प्रधानमन्त्रीले भारतको भ्रमण गरेका छन ।
भारतको औपचारिक भ्रमणमा रहेका नेपाली काँग्रेसका सभापति सुशिल कोइरालालाई नयाँदिल्लीको रेसकोर्सस्थित सरकारी निवासमा सोमबार भेटवार्ता गर्दै भारतीय प्रधानमन्त्री डा मनमोहन सिंहले लोकतन्त्रको संस्थागत बिकासका लागि लोकतान्त्रिक शक्ति वीचको सहकार्यमा जोड दिनु एकीकृत माओवादी पुन पहिलो दलको रुपमा आएको देख्न नचाहनु पनि हो । सिंहले लोकतान्त्रिक व्यवस्थालाई संस्थागत गर्न निर्वाचन हुनु पर्ने बताउनु,निर्वाचनका लागि भारत सरकार नेपाललाई जुन सुकै किसिमको सहयोग गर्न तयार रहेको जनाउ दिनु र नेपालका राजनीतिक दलहरुकै सहमतिमा निर्वाचन हुनु पर्ने बताउनुलाई कुटनीति भित्रको राजनीतिको रुपमा अथ्र्याइएको छ ।
नेपालको पछिल्लो राजनीतिक घटनाक्रम प्रति चासो व्यक्त गर्दै सिंहले निर्वाचमा सबै दल मिलेर जानु पर्ने बताउनु,उच्चस्तरिय राजनीतिक समितिसँग मंगलवार वार्ता गर्न लागेको मोहन बैद्य नेतृत्वको नेकपा–माओवादी निर्वाचन सहभागी हुने वा नहुने वारेमा चासो व्यक्त गर्नु नेपाली राजनीतिक भबिश्य आँकलन गर्न खोजेको रुपमा बुझिन्छ । आफू दिल्ली प्रस्थान गरेकै दिन बैद्यले आफनै पार्टीका नेता देउवासँग वार्ता गरेको सन्दर्भले असन्तुष्ट पक्षलाई पनि सहमतिमा ल्याएर घोषित मितिमै निर्वाचन गरिने प्रतिबद्धता ब्यक्त गर्न सभापति कोइरालालाई सहज भएको छ । करीव ३५ मिनेटको भेटवार्तामा लोकतन्त्रलाई संस्थागत गर्दै सिंहले राजनीतिक स्थायित्वसँगै आर्थिक समृद्धि ल्याउन सघाउने आश्वसन कोइरालालाई दिनु उत्तर फर्कन खोजेकाहरुलाई दक्षिणतिरै मोडिराख्ने सन्देशको रुपमा बुझन कठिन छैन । काँग्रेस र एमालेका केन्द्रदेखि जिल्ला तहका नेताहरुको २० सदस्यीय टोलीले चीन भ्रमण गरेको भारतलाई सम्झना छ ।
भारत र चीन दुवैले निर्वाचन मार्फत भरपर्दो शक्ति खोजिरहेका छन । याङले जसरी निर्वाचन प्रति सशक्त समर्थन जनाएर फर्किए खुर्सिद त्यो भन्दा एक कदम माथि उठेर निर्वाचन प्रति समर्थन जनाउनु नेपालमा दुवै मुलुकको चासो बढेको अर्थ लगाउन सकिन्छ । समृद्ध बन्दै गएका दुई बिशाल छिमेकीको वीचमा रहेको नेपालले सन्तुलित कुटनीतिक सम्बन्ध बिकास गरेर नै राजनीतिक स्थायित्व र आर्थिक समृद्धि हासिल गर्न संभव हुन्छ । उत्तर र दक्षिण कार्ड प्रयोग गर्ने पूरानो कुटनीतिक सम्बन्धको सट्टा दुवै छिमेकीसँग सुमधुर र हार्दिक सम्बन्ध बनाएर नै नेपाली राष्ट्रिय स्वाधिनता संरक्षित भइराख्छ ।