
विश्वका १ लाखभन्दा बढी मानिसले मंगल ग्रहमा घर बसाउने इच्छा व्यक्त गरेका छन् । उनीहरूले मंगल ग्रहमा जाने एकतर्फी यात्रा र बाँकी जीवन त्यहाँ बिताउनका लागि आवेदन दिएको मंगल मिसनको तयारी गरिरहेको संस्थाले जनाएको छ । ‘द मार्स वान’ परियोजनाले २०२२ भित्र रातो ग्रहमा मानवबस्ती सुरु गर्ने योजना बनाएको छ । यसका लागि आर्थिक र व्यावहारिक पक्षबारे कुनै स्पष्ट प्रस्ताव सो परियोजनाले अघि सारिसकेको छैन ।
मंगल ग्रहमा मानिस बाँच्न सक्ने वातावरण छ कि छैन ? यसका लागि पर्याप्त बजेट छ कि छैन ? भन्ने प्रस्ट नभए पनि करिब ३० हजार अमेरिकीसहित १ लाख जनाले त्यहाँ जान आवेदन दिएका हुन् । ‘तपाईं केही उम्मेदवारको नाम परियोजनाको वेबसाइटमा देख्न सक्नुहुन्छ तर आवेदन दिने उनीहरू मात्र भने होइनन्,’ मार्स वानका कार्यकारी प्रमुख तथा सहसंस्थापक बास ल्यान्डर्पले भने, ‘आफ्नो प्रोफाइल तयार गरिरहने त्यस्ता धेरै मानिस हाम्रो सम्पर्कमा छन् । उनीहरू आफ्नो भिडियो बनाइरहेका छन् र प्रश्नोत्तर र व्यक्तिगत विवरण भरिरहेका छन् ।’ उनले कति जनाले आवेदन शुल्क बुझाए र कतिले प्रोफाइल बनाए भन्ने चाहि खुलाएनन् ।
आवेदन प्रक्रिया १८ वर्ष पुगेका जोसुकैले मंगल ग्रह यात्राका लागि आवेदन दिन सक्नेछन् तर आवेदन शुल्क भने नागरिकतामा भर पर्छ । अमेरिकी नागरिकले ३८ डलर तिर्नुपर्नेछ भने मेक्सिकालीले मात्र १५ डलर । उनले कुल गार्हस्थ उत्पादनका आधारमा शुल्क तय गरिएको बताए । पहिलो क्रयुका लागि मार्स वान मिसनले ६ अर्ब डलर खर्च गर्नुपर्ने ल्यान्सडर्पले भने । यसका लागि प्रायोजकको खोजी भइरहेको छ र सञ्चारमाध्यमले पृथ्वीमा उनीहरूको तालिमदेखि लिएर मंगलमा उनीहरूको बसोबासबारे भिडियो खिचेबापत रोयल्टी लिने योजना बनाइएको छ ।
यी आवेदकमध्येबाट मार्स वानले सबै महाद्वीपका मानिसलाई संकलन करी कुल ४० अन्तरिक्षयात्री तयार गरिनेछ । उनीहरूमध्ये दुई पुरुष र दुई महिला सन् २०२२ को सेप्टेम्बरसम्ममा मंगल ग्रहका लागि उडिसक्नेछन् । उनीहरू सन् २०२३ को अप्रिलमा मंगलको सतहमा पुग्नेछन् । चारजनाको अर्को समूह दुई वर्षपछि पठाइने मार्स वानले जनाएको छ । तर, उनीहरूमध्ये कोही पनि पृथ्वीमा फर्कने छैनन् । छनोटमा परेका अन्तरिक्षयात्रीले गोप्य स्थानमा आठ वर्ष तालिम लिनुपर्ने छ । परियोजनाको वेबसाइटका अनुसार उनीहरूले बासस्थानको मर्मत, अन्तरिक्षमा तरकारी उमार्ने तरिका र नियमित तथा गम्भीर चिकित्सा (जस्तो कि दन्त समसया, मांशपेसी च्यातिएको समस्या र हाड भाँचिएको आदि) बारे तालिम लिनेछन् । ‘हामी यो सबै कथा पृथ्वीवासीलाई सुनाउन चाहन्छौं,’ ल्यान्सडर्पले भने, ‘मानिसहर मंगलमा गएपछि त्यहाँ बसोबास गर्नेछन् र नयाँ पृथ्वीको निर्माण गर्नेछन् । यो हालसम्म नभएको घटना हुनेछ, हामी यो कथा पूरै विश्वलाई सुनाउन चाहन्छौं ।’
मंगलमा मानव बस्ती मंगलमा पठाइने हरेक मानिसले ५ हजार ५ सय ११ पाउन्ड अत्यावश्यक सामान लान सक्नेछन् । आठओटा मिसनपछि त्यहाँ ४४ हजार पाउन्ड सामान र मानिसको ठूलो संख्या त्यहाँ पुग्नेछ । उनीहरू क्याप्सुलमा हुनेछन् जसको वजन जोडिएको हुनेछन् । ती क्याप्सुल उनीहरूको बासस्थानको हिस्सा हुनेछ । ‘क्याप्सुलमा खाना र सोलार प्यानेल हुनेछन् । पृथ्वीले उनीहरूका लागि धेरै पानी वा अक्सिजन पठाइने छैन बरु ती सबै मंगलमै निर्माण गरिनेछन्,’ ल्यान्सडर्पले भने । अन्तरिक्षयात्रीहरूले मंगलको माटोबाट निकालिएको पानीलाई फिल्टर गर्नेछन् ।
‘हामी पानीलाई वाष्पीकरण गर्नेछौं र पछि फेरि चिस्याएर तरल बनाउनेछौं,’ उनले भने, ‘पानीबाट हामीले हाइड्रोजन र अक्सिजन बनाउन सक्छौं र त्यो हामी श्वासप्रश्वासका लागि प्रयोग गर्नेछौं । यी सबै मानिस त्यहाँ पुग्नुभन्दा पहिले नै रोभरहरूले तयार गर्नेछन् ।’ उनले अगाडि थपे, ‘हामी त्यहाँ पृथ्वीको जस्तो वायुमण्डल बनाउने छौं । तर, यसो गर्न सयौं वर्ष लाग्न सक्छ ।’ राजधानीबाट