
काठमाण्डु ४ भदौ–नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले सरकार परिवर्तन र मंसिर ४ गतेका लागि घोषित संविधानसभाको निर्वाचनको मिति सार्ने विषयमा अब कसैसँग पनि वार्ता हुन नसक्ने स्पष्ट पारेका छन् । असन्तुष्ट दलहरुलाई पनि सहमतिमा ल्याएर निर्वाचन सुनिश्चित गर्न ध्यान आर्कषण गराउँदा अध्यक्ष खनालले पत्रकारसँग भने‘सरकार परिवर्तन र निर्वाचनको मिति परिवर्तनको विषयमा सम्झौता हुनै सक्दैन । त्यस बाहेकका विषयमा भने सहमतिको प्रयास हुन सक्छ ।’
‘भदौ अन्तिम बार्ता अन्तिम’ भन्दै खनालले असोजदेखि उमेदवार तय गरेर अघि बढ्नु पर्ने भएकोले भदौ भन्दा पछि केहीसँग पनि बार्ता नहुने स्पष्ट पारे । निर्वाचनबाट मात्रै मुलुकले निकास पाउने स्मरण गराउदै खनालले अब मंसिर ४ गतेका लागि तोकिएको समय कुनै पनि हालतमा तलमाथि हुन नसक्ने धारणा व्यक्त गरे । निर्वाचनको मितिमा मोलतोल नगर्न असन्तुष्ट पक्षसँग उनले आग्रह गरे ।
बार्ता मात्र गरेर मुलुकले निकास नपाउने भन्दै असन्तुष्टसँग जारी बार्तालाई तत्काल टुङग्याएर मुलुकलाई निर्वाचनमा केन्द्रीत गर्नु पर्नेमा खनालको जोड थियो । उनले नेकपा–माओवादी नेतृत्वको ३२ दलीय मोर्चालाई मुलुकको अवस्था हेरेर निर्वाचनमा आउन आब्हान गर्दै आफ्ना असहमतिका विषयलाई निर्वाचन मार्फत जनतामा लिएर जान सुझाव दिए ।
एमालेभित्र कै नेताहरुले चुनाव चैतमा सर्ने भनि दिएको अभिब्यक्ति सम्बन्धमा पत्रकारले राखेको जिज्ञासामा खनालले भने–‘चुनाव मंसिर ४ मा एक हुन्छ, दुई हुन्छ, तीन हुन्छ । चुनाव सर्छ भनेर खयाली पुलाउ पकाएर कसैले अब नखाए हुन्छ ।’ उनले मंसिरमा चुनाव नभए फेरि कहिल्यै पनि चुनाव हुन नसक्ने भन्दै चुनाव सार्न खोज्नेहरुले प्रतिगामीहरुलाई सघाईरहेको आरोप समेत लगाए ।
भातृ संगठनहरु पार्टीको कार्यदिशा अनुसार चल्नु पर्ने स्पष्ट पार्दै खनालले यूवा संघ नेपाल भित्र देखिएको विवादमा अध्यक्ष महेश बस्नेतको नाम नलिईकन गुण्डागर्दी, अनुशासनहिन र अराजकहरुलाई कारवाही गर्ने चेतावनी दिए । उनले भने–‘भातृ संगठनहरु एमालेको कार्यदिशा अनुसार चल्नु पर्छ । यूवा संघभित्र देखिएको गुण्डागर्दी र अराजकता विरुद्ध पार्टी एक हुन्छ । र यूवा संघलाई एक बनाईन्छ ।’ बस्नेतले पार्टी हित विपरित कार्य गरेको र अनुशासनहिन काम गरेकोले उनी माथि कारवाही हुन सक्ने खनालको भनाई थियो । उनले छिट्टै केन्द्रीय कमिटीको बैठक बसेर चुनावी रणनीति तयार पारी चुनावमा होमिने जानकारी दिए ।