पन्ध्रदिन भित्र राहत दिन निर्देशन

काठमाण्डु टुडे २०७० भदौ २ गते १७:५२ मा प्रकाशित

काठमाण्डु २ भदौ–सरकारले बाढी पहिरो पीडित समुदायलाई मापदण्ड अनुसारको राहत आगामी १५ दिन भित्र बितरण गरीसक्न निर्देशन दिएको छ । राहत बितरण र पुनस्र्थापनाका लागि नीतिगत निर्णय पनि सोही अवधि भित्र लिइसक्न अन्तरिम मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले निर्देशन दिएका हुन ।

उच्चपदाधिकारी सहभागी रहेको दैवी प्रकोप उद्धार र व्यवस्थापन सम्बन्धी आइतवार सिंहदरवारमा बसेको बिशेष बैठकमा अध्यक्ष रेग्मीले नागरिकले राहत पाएको महसुस हुने गरी काम गर्न निर्देशन दिएका हुन । अध्यक्ष रेग्मीले दार्चुलाको सदरमुकामसम्म मोटर वाटो पु¥याउने कामलाई तिव्रता दिन पनि निर्देशन दिए । नीतिगत रुपमा प्रष्ट भएर स्रोत र साधनको व्यवस्थापन गर्न अध्यक्ष रेग्मीले सम्वद्ध पदाधिकारीहरुलाई आग्रह गरेको मन्त्रिपरिषद कार्यालयका प्रवक्ता महेन्द्रकुमार थापाले बताए । उनका अनुसार बैठकमा दैवी प्रकोपको राहत लगायतका कामलाई घनिभूत रुपमा अगाडि वढाउन निर्देशन दिदै रेग्मीले समन्वयात्मक ढंगले काम गर्न पनि आग्रह गरेका थिए ।

वैठकमा मन्त्रीहरु माधव प्रसाद घिमिरे,विद्याधर मल्लिक,माधव पौडेल, छविराज पन्त र टेकवहादुर थापा घर्तीको उपस्थिति थिए । बैठकमा गृह सचिव नविन घिमिरे दैवी प्रकोप र राहत वितरणको स्थिति,सहसचिव लक्ष्मी ढकालले राहत कोष,राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. रविन्द्र शाक्य र प्रधानमन्त्री कार्यालयका सचिव सूर्य सिलवालले र प्रधानमन्त्री कार्यालयका सचिव कृष्णहरि वास्कोटाले केन्द्रीय दैवी प्रकोप उद्धार समितिवाट भएका निर्णय र कृषि विकास मन्त्रालयका सचिव जय मुकुन्द खनालले वर्ड फ्लूको वारेमा बैठकलाई जानकारी गराएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us