बिमानस्थलमा प्रचण्ड र माधवलाई फरक व्यवहार

काठमाण्डु टुडे २०७० भदौ २ गते १८:०६ मा प्रकाशित

काठमाण्डु २ भदौ-एकीकृत माओवादीका अध्यक्ष प्रचण्ड र नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल दुवै पूर्व प्रधानमन्त्री हुन ।

prachanda-and-madhav-nepalभैरहवाबाट शनिवार काठमाण्डु फर्कदा अध्यक्ष प्रचण्डको नीजि सवारीलाई त्रिभुवन बिमानस्थलको ढोकैमा रोक्ने डिआइजी गोपाल भण्डारीले आइतवार पोखरा प्रस्थान गरेका एमाले नेता नेपालको सवारीलाई बिमानस्थलसम्म जान दिए । प्रचण्डको सवारी शुक्रवार भैरहवा जाँदा बिमानस्थलसम्म पुगेको थियो ।

प्रहरी महानिरीक्षक कुवेरसिंह राना डिआइजी भण्डारीले दुवै पूर्व प्रधानमन्त्री प्रति देखाएको व्यवहारका वारेमा जानकार छन।रानाले पूर्व प्रधानमन्त्री प्रचण्ड प्रति देखाएको व्यवहारका वारेमा भण्डारीसँग स्पष्टीकरण पनि लिइसकेका छन । एक अधिकारीका अनुसार रानाले स्पष्टीकरण लिएपछि भण्डारीले शनिवार प्रचण्डको सवारी बिमानस्थल पुग्न दिइएको हो । आफनो सवारी रोक्ने त्रिभुवन विमानस्थल सुरक्षा प्रमुख गोपाल भण्डारीको व्यवहारबाट पूर्वप्रधानमन्त्री तथा एकीकृत माओवादीका अध्यक्ष प्रचण्ड गम्भीर भएका छन ।यथास्थितिवादी,पश्चगामी तथा अग्रगामी परिवर्तन विरोधी शक्तिहरुको डिजाइनमा भण्डारीले अध्यक्ष प्रचण्डलाई बदनाम गराउन खोजेको उनको नीजि सचिवालयले जनाएको छ ।

विगत ६ बर्षदेखि विमानस्थलसम्म आफनै सवारीमा आउने जाने गर्दै आएका प्रचण्डको सवारीलाई शनिबार त्रिभुवन विमानस्थलको ढोकैमा डीआइजी भण्डारीले रोक्ने प्रयास गरेका थिए । भैरहवाबाट फर्कने क्रममा  बिमानस्थलको ढोकामा सवारी रोक्ने भण्डारीको व्यवहार प्रति असन्तुष्टी व्यक्त गर्दै प्रचण्डको नीजि सचिवालयले चलिआएको प्रचलन र व्यवहारिकता ख्याल गर्न ध्यानाकर्षण गराएको छ ।

सचिवालयले आइतवार जारी गरेको प्रेस बक्तव्यमा भनिएको छ ‘विगतदेखि चलिआएको प्रचलन र व्यवहारिकतालाई ख्यालै नगरी पूर्वप्रधानमन्त्री जस्तो व्यक्तिलाई विना जानकारी रोक्न खोज्ने र यसलाई अनावश्यक प्रचारबाजी गरी आफू चर्चामा आउन खोज्ने व्यक्ति निकायले समेत यसमा ध्यान दिन जरुरी छ ।’
विमानस्थलको आन्तरिक उडान कक्षको भीआईपी कक्षदेखि विमानको नजिकसम्म भीआईपीहरुलाई जानको लागि विगतदेखि नै पूर्वप्रधानमन्त्री र गृहमन्त्रीसम्मका व्यक्तिहरुले आफ्नो निजी सवारीमार्फत् नै विमानस्थलको ‘फलो मी’को स्कटिङमा जाने गरेको सचिवालयले जनाएको छ । ‘अध्यक्ष प्रचण्ड मात्र होइन सबै पूर्वप्रधानमन्त्रीहरु आफ्नै सवारीमा विमास्थलकै स्कटिङमा जहाज नजिकसम्म जाने गरेका छन् र फर्कदा पनि त्यसरी नै स्कटिङमा फर्कने गरेका छन्’ बक्तव्यमा भनिएको छ ।

डीआइजी भण्डारीले अध्यक्ष प्रचण्डको सवारी रोक्न खोजेपछि एकीकृत माओवादीका केन्द्रीय सदस्य सन्तु दराईले आईजीपी कुवेरसिंह रानालाई तत्कालै टेलिफोन गरी घटनाको वारेमा जानकारी गराएका थिए । ‘त्यतिवेला आइजीपी सापको आदेश पालना गरे जस्तो गरेर भण्डारी सापले पूर्वप्रधानमन्त्री प्रचण्डको सवारी बिमानस्थलसम्म जान दिनु भयो तर त्यस लगत्तै पत्रकार बोलाएर समाचार टिपाउनु भयो’ बिमानस्थल सुरक्षामा खटिएका एक प्रहरी अधिकारीले भने ‘हामीले थाहा पाएअनुसार पूर्वप्रधानमन्त्रीहरुको सवारी बिमानस्थलसम्मै पुग्ने गरेका थिए ।’

प्रचण्डको नीजि सचिवालयले जारी गरेको प्रेस–बक्तव्य
विगत केही समययता पूर्वप्रधानमन्त्री तथा एकीकृत नेकपा(माओवादी)का अध्यक्ष प्रचण्ड र हाम्रो पार्टीलाई कसरी हुन्छ बद्नाम गराउने उद्देश्यले विभिन्न पत्रपत्रिकामा आइरहेका समाचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । आइतबार एक दैनिक पत्रिकामा प्रकाशित ‘दाहालको गाडीलाई विमानसम्मे पुग्ने छुट’ शीर्षक समाचार यसैको पछिल्लो कडिको रुपमा आएको छ । अध्यक्ष प्रचण्डलाई कसरी बद्नाम गर्न सकिन्छ भनी आम जनमानसमा भ्रम सिर्जना गर्न अनावश्यक कुराहरुलाई उचालेर गरिएको यस्ता कुप्रचारको भ्रममा नपर्न आम जनसमुदायलाई अनुरोध गरिन्छ ।
विशेष गरी विमानस्थलको आन्तरिक उडान कक्षको भीआईपी कक्षदेखि विमानको नजिकसम्म भीआईपीहरुलाई जानको लागि विगत समयदेखि नै पूर्वप्रधानमन्त्री र गृहमन्त्रीसम्मका व्यक्तीहरुले आफ्नो निजी सवारीमार्फत् नै विमानस्थलको ‘फलो मी’को स्कटिङमा जाने गरेको कुरा सर्बविदितनै छ । यो विगतदेखि नै भइरहेको कुरालाई अनावश्यक रुपमा अध्यक्ष प्रचण्डले मात्र त्यसो गरेको भनी कुप्रचार गर्न खोजिएको छ । हामी त्यस्ता मिडियालाई पूर्वाग्रहपूर्ण समाचार प्रेषित गरी भ्रम सिर्जना नर्गन तथ्यपूर्ण समाचार दिन आग्रह गर्दछौं । अध्यक्ष प्रचण्ड मात्र होइन सबै पूर्वप्रधानमन्त्रीहरु आफ्नै सवारीमा विमास्थलकै स्कटिङमा जहाज नजिकसम्म जाने गरेका छन् र फर्कदा पनि त्यसरी नै स्कटिङमा फर्कने गरेका छन् । अध्यक्ष प्रचण्डले मात्र लिएको यो सुविधा भनी अत्यन्त एकाग्र, पूर्वाग्रही बनी समाचार प्रकाशित भएको प्रष्ट देखिन्छ । विगतदेखि चलिआएको प्रचलन र व्यवहारिकतालाई ख्यालै नगरी पूर्वप्रधानमन्त्री जस्तो व्यक्तिलाई विना जानकारी र सुचना विना रोक्न खोज्ने र यसलाई अनावश्यक प्रचारबाजी गरी आफू चर्चामा आउन खोज्ने व्यक्ति निकायले समेत यसमा ध्यान दिन जरुरी छ ।
अध्यक्ष प्रचण्ड देशमा कुनै पनि हालतमा संविधानसभाको निर्वाचन गराउन अहोरात्र खटिरहनु भएको छ । देशलाई शान्ति र प्रगतितर्फ लानको निम्ति लागिपरिरहेको देखेर केही यथास्थितिवादी, पश्चगामी र अग्रगामी परिवर्तन विरोधी शक्तिहरुको डिजाइनमा बद्नाम गर्न एउटा कडीको रुपमा यस्ता समाचार आउने गरेको भन्ने प्रष्ट देखिन्छ । नत्र प्रचण्डलाई मात्र किन यस्तो आरोप लगाइन्छ । एउटा सामान्य कुरालाई भगेरा टाउके अक्षरमा प्रचार गर्न उक्साउने सम्बन्धित पक्षले यस बारेमा एकपटक सोच्न आग्रह गर्दछौं ।
भाद्र २, २०७० ।
प्रचण्डको नीजि सचिवालय

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us