असन्तुष्ट पक्ष निर्णायक क्षणमा

काठमाण्डु टुडे २०७० साउन ३० गते ७:४४ मा प्रकाशित

काठमाण्डु ३० साउन:निर्वाचन प्रक्रिया प्रति असन्तुष्ट रहेका राजनीतिक दल निर्णायक क्षणमा पुगेका छन । उच्चस्तरिय राजनीतिक समिति र सरकारले आगामी मंसिर ४ गते निर्वाचन गर्ने गरी असन्तुष्टका माग सम्बोधन गर्ने धारणासहित असन्तुष्ट दललाई कस्दै लैजान थालेपछि उनीहरु निर्णायक क्षणमा आइपुगेका हुन । सरकार र चार राजनीतिक दलले पनि असन्तुष्ट पक्षका माग सम्बोधन गर्ने वारेमा आन्तरिक गृहकार्य पनि गरिरहेका छन ।
सरकार र उच्चस्तरिय राजनीतिक समिति शुक्रवारसम्म निर्वाचन प्रक्रियामा असन्तुष्ट पक्षसँग निर्णायक वार्ता गर्न अग्रसर छन । उच्चस्तरिय राजनीतिक समितिले बुधवार दिउसो ३ बजे नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चा र साँझ ५ बजे उपेन्द्र यादव नेतृत्वको मोर्चासँग वार्ता गर्दैछ । उपेन्द्र यादव नेतृत्वको मधेशी जनअअधिकार फोरम र अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टी निर्वाचनमा भाग लिने वातारण बन्दै गएको छ । नेकपा–माओवादी नेतृत्वको मोर्चाले निर्वाचनको बर्तमान प्रक्रिया प्रति सहमति जनाउदै निर्वाचनमा सहभागी हुने वा निर्वाचन बहिस्कार गर्ने मध्ये एउटा निर्णय गर्नु पर्नेछ । सो मोर्चासँग मंगलवार भएको वार्तामा संबिधानसभा निर्वाचन मंसिर ४ गते गराउने बिषयमा सहमति खोजिनु पर्ने प्रतिक्रिया दिइसकेको छ । सरकारलाई अबैध मान्दै आएको सो मोर्चाले मंगलवार औपचारिक रुपमा वार्तामा बसेपछि बैध मानेको छ । सो मोर्चाले गोलमेच सम्मेलनका लागि सहजकर्ताको भूमिका खेलिदिन सरकार समक्ष प्रस्ताव गरेको छ ।
एमाले नेता रघु पन्तले भने ‘चार दल जति लचिलो बन्दै गएका छन असन्तुष्ट पक्ष पनि त्यत्तिकै लचिलो बनेमा सहमति बन्छ ।’ समानुपातिक सिट संख्या बढाउने,मतदाता नामावलीका लागि म्याद थप्ने र उच्चस्तरिय राजनीतिक समिति बिस्तार गर्न चार दल तयार छन तर उनीहरु ११ बुदे सहमति र २५ बुदे बाधा अडकाउ फुकाउ आदेश खारेज गरी बर्तमान सरकार बिघटन गर्न तयार छैनन । ‘त्यो दिशामा गएर मंसिर ४ मा निर्वाचन गराउन संभव हुदैन,हामी निर्वाचनमा मिति सार्न तयार छैनौ’एकीकृत माओवादीका प्रवक्ता अग्नी सापकोटाले भने । मंसिर ४ गते निर्वाचन गराउन निर्वाचन आयोगले भदौ ४ गते भित्र राजनीतिक सहमति जुटाउन सरकार र चार दललाई सचेत गराईसकेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us