अदृश्य शक्तिले शान्तिप्रक्रिया भाँड्न खोजेको माओवादी आरोप

काठमाण्डु टुडे २०७० साउन २९ गते १७:२० मा प्रकाशित

काठमाण्डु, २९ साउन । एकीकृत माओवादीले गोरखा फुजलेका कृष्णप्रसाद अधिकारीको हत्याको विषय उठाएर अदृश्य शक्तिले शान्तिप्रक्रिया भाँड्न खोजेको आरोप लगाएको छ ।
maoist flagमाओवादीले द्वन्द्वकालीन घटनाबारे केही व्यक्ति र संघ संस्थाले गलत प्रचारबाजी गर्ने गरेको भन्दै गोरखा घटनालाई नाटकीय ढंगले उचालेर समग्र शान्तिप्रक्रियाको जग नै भत्काउन खोजेको जनाएको छ । अध्यक्ष प्रचण्डले जारी गरेको विज्ञप्तिमा कसैको कुनै अदृश्य गुरुयोजनाअन्तर्गत त्यस्ता काम भइरहेको उल्लेख छ ।
नन्दप्रसाद अधिकारी र गंगामाया अधिकारीको जारी अनसनलाई देशको संक्रमणकालीन राजनीतिको फाइदा उठाएर शान्ति प्रक्रिया भाँड्ने षड्यन्त्रका रुपमा प्रयोग गरिएको आरोप प्रचण्डले लगाएका छन् । अधिकारी दम्पती आफ्ना छोराका हत्यारालाई कारबाहीको माग गर्दै केही सातायता आमरण अनसनमा छन् ।
प्रचण्डले द्वन्द्वकालीन घटना छानबिन गर्न गठन गर्ने भनिएको सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी अध्यादेशको विरुद्धमा लागेका व्यक्ति र शक्तिहरुले दोस्रो संविधानसभा निर्वाचनको मुखमा यस्ता मुद्धा चर्काउन क्रियाशिल देखिएको बताएका छन् ।
उनले मानवअधिकार आयोगले मुद्धालाई अघि बढाउन सरकारलाई निर्देशन दिएको र सरकारले विषयको गम्भीरतालाई बोधै नगरी त्यही दिशामा उद्धत हुने प्रयत्न गरिरहेकोप्रति आपत्ति जनाएका छन् । उनले द्वन्दकालीन घटनालाई वृहद् शान्ति  सम्झौताअनुरुप सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत हल गर्न यथाशिघ्र आयोग गठन गर्नुपर्ने मागसमेत गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us