
काठमाण्डु, २९ साउन । उच्चस्तरीय राजनीतिक समितिमा रहेका मुख्य चार दल उपेन्द्र यादव नेतृत्वको संघीय लोकतान्त्रिक मोर्चाका ६ मध्ये चारवटा मागमा सहमत भएका छन् ।
समिति र यादवको मोर्चाबीच बुधबार भएको वार्तामा मुख्य दल मोर्चाले अघि सारेका खिलराज रेग्मीको प्रधानन्यायाधीशबाट राजीनामा र जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारणबाहेकका माग पूरा गर्न सहमत भएका हुन् । नयाँबानेश्वरस्थित समिति कार्यालयमा भएको वार्ता सकारात्मक भएको एकीकृत माओवादी नेता नारायणकाजी श्रेष्ठले बताए । मोर्चाका सरकार गठनअघि दलहरुबीच भएको ११ बुँदे सहमति र २५ बुँदे बाधाअड्काउ फुकाउ अध्यादेश परिमार्जन गरिनुपर्ने, उच्चस्तरीय राजनीतिक समिति विस्तार गरिनुपर्ने, संविधानसभामा ४२ प्रतिशत प्रत्यक्ष र ५८ प्रतिशत समानुपातिक प्रतिनिधित्वको व्यवस्था गरिनुपर्ने मागमा भने मुख्य दल सकारात्मक देखिएका छन् ।
थप गृहकार्य गरी बिहीबार पुन: वार्तामा बस्ने बताइएको छ । यसअघि मंगलबार बसेको उच्चस्तरीय समिति बैठकले असन्तुष्ट पक्षसँग साउन महिनाभर निर्णायक वार्ता गर्ने र सहमतिमा नआए उनीहरूलाई पर्खन नसक्ने निर्णय गरेको थियो ।