असन्तुष्टलाई धेरै दिन कुर्न नसक्ने मुख्य दलको चेतावनी

काठमाण्डु टुडे २०७० साउन २८ गते ५:५८ मा प्रकाशित

काठमाडौँ, २८ साउन । उच्चस्तरीय राजनीतिक समितिले निर्वाचन प्रक्रियामा असहमत दललाई लामो समय पर्खन नसक्ने चेतावनी दिएको छ ।
नयाँबानेश्वरमा सोमबार बसेको समिति बैठकले मंसिर ४ मा घोषित संविधानसभा निर्वाचन प्रभावित हुन सक्ने भएकाले तत्काल सहमतिमा नआए असन्तुष्ट पक्षलाई लामो समयसम्म पर्खन नसक्ने निष्कर्ष निकालेको हो । बैठकमा निर्वाचन प्रक्रियामा असहमत मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी, उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार high lavel commiteeफोरम, नेपाल र अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीले अघि सारेका सर्तबारे छलफल भएको थियो । बैठकले असन्तुष्ट पक्षका मागबारे साउन अन्तिमसम्ममा निर्णायक वार्ता गर्ने निर्णय भएको बैठकपछि एकीकृत माओवादी नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए । फोरम र संघीय समाजवादीसँग मंगलबार र वैद्य माओवादीसँग बुधबार निर्णायक वार्ता गर्ने निर्णय भएको काँग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले बताए ।
बैठकले असन्तुष्ट दलका सरकार परिवर्तन र निर्वाचन स्थागनबाहेकका मागमा लचकता अपनाउन तयार रहको पुन: स्पष्ट गरेको छ । असन्तुष्ट दलले सरकार गठनअघि भएको ११ बुँदे सहमति, २५ बुँदे बाधाअड्काउ फुकाउ आदेश, सरकार र उच्चस्तरीय राजनीतिक समितिको खारेजी, निर्वाचन प्रक्रिया स्थगन, संविधानभामा समानुपातिक प्रतिनिधित्व वृद्धिलगायतका सर्त राखेका छन् ।
बैठकमा काँग्रेस सभापति सुशील कोइरालाले भारत र एमाले अध्यक्ष झलनाथ खनालले अमेरिका भ्रमणबारे बैठकलाई जानकारी गराउनुभएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us