राष्ट्रपतिद्धारा इरानको निम्तो अस्वीकार गरेको खुलासा

काठमाण्डु टुडे २०७० साउन ३० गते १:०२ मा प्रकाशित

राष्ट्रपति डा रामवरण यादवले इरानको निमन्त्रणालाई अस्वीकार गरेको खुलासा भएको छ । साउन २० गते इरानका नवनिर्वाचित राष्ट्रपति हसान रौहानीको पदबहाली समारोहमा सहभागी हुन गरिएको निमन्त्रणा राष्ट्रपति डा यादवले अस्वीकार गरेको खुलासा भएको हो । नेपाल र नेपालीप्रति सम्मान दर्शाउदै इरानले राष्ट्रपति यादवलाई निमन्त्रणा पठाएको थियो ।

imagesसाउन १७ गतेको मन्त्रीपरिषद बैठकले इरानका नवनियुक्त राष्ट्रपति हसानको पद बहाली समारोहमा राष्ट्रपति यादवलाई गरेको आमन्त्रण पत्र प्राप्त भएको स्वीकार गरेको भएपनि त्यो बिषय सार्वजनिक गरिएको थिएन । मन्त्रीपरिषदको निर्णय अनुसार सरकारले राष्ट्रपति यादवको कार्यव्यस्तताका कारण सो समारोहमा सहभागी हुन नसक्ने जनाउ दिएको थियो भने नेपाल सरकारका तर्फबाट पाकिस्तानका लागि नेपाली राजदुत भरत पौडेललाई सो समारोहमा सहभागी हुन पठाउने निर्णय गरेको थियो ।
गत जुनमा भएको निर्वाचनमा राष्ट्रपतिमा बिजयी भएका ६४ बर्षीय हसानले साउन २० गतेदेखि औपचारिक जिम्मेवारी सम्हालेका छन । सन १९७९को मुस्लिम क्रान्तिपछिका सातौ राष्ट्रपति हसानले पश्चिमा मुलुकलाई चुनौती दिदै आठ बर्ष शासन गरेका महम्मोद अहमदिनेजादलाई बिस्थापित गरेका हुन । अहमदिनेजादको शासनमा इरानसँग तनावपूर्ण कुटनीति झेल्दै आएका पश्चिमा राष्ट्रहरुले नवनिर्वाचित राष्ट्रपति हसानसँग सहकार्य गर्ने चाहना व्यक्त गरिसकेका छन । अहमदिनेजादलाई बिस्थापित गरी बिजयी भएका हसानसँग सहकार्य गर्न सकिने अभिव्यक्ति अमेरिकी राष्ट्रपति बाराक ओबामाले दिएका छन । ‘यदि तिमी सही जवाफ चाहन्छौ भने इरानसँग प्रतिबन्धको भाषा नबोल,सम्मानको भाषा बोल’ भन्ने अभिव्यक्ति दिदै हसानले पदबहाली गरेका छन । पदबहाली समारोहमा पूर्व राष्ट्रपति अहमदिनेजाद उपस्थित भएनन भने अफगानिस्तानका राष्ट्रपति हमिद कर्जाइ र पश्चिमा राष्ट्रका प्रतिनिधि सहभागी थिए ।
पश्चिमा राष्ट्रको तीब्र बिरोध र असन्तुष्टीलाई चुनौती दिदै असंलग्न राष्ट्रहरुको १६ औ शिखर सम्मेलनमा भाग लिन गत बर्ष तत्कालीन प्रधानमन्त्री डा बाबुराम भट्टराई तेहरान पुगेका थिए । गत बर्ष अगस्त ३० र ३१ मा तेहरानमा भएको शिखर सम्मेलनमा अमेरिकी सहयोगमा साना मुलुक माथि भइरहेका हस्तक्षेपका वारेमा भट्टराईले चुनौती दिदै वार्ता र संम्वाद मार्फत समस्याको समाधान खोज्न सुझाव दिएका थिए । त्यतिवेला डा भट्टराईले भारतीय प्रधानमन्त्री डा मनमोहन सिंहलाई छुट्टै भेटेको बिषयमा उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले असन्तुष्टी व्यक्त गरेका थिए । एकीकृत माओवादीका तत्कालीन उपाध्यक्षद्धय भट्टराई र श्रेष्ठ वीचको सम्बन्ध त्यहाँदेखि बढी नै चिसिदै आएको थियो । भट्टराईसँगको भेटमा अहमदिनेजादले नेपालसँग व्यापारिक सहकार्य गर्ने इच्छा व्यक्त गरेका थिए । सो भ्रमणदलका एक सदस्यले भने ‘त्यतिवेला इरानी राष्ट्रपतिले नेपाल र नेपाली प्रति देखाएको सदभाव र सम्मान उच्चस्तरको थियो ।’
आणविक कार्यक्रममा अमेरिकासहित पश्चिमा राष्ट्रसँंग कुटनीतिक संघर्ष गर्दै आएका अहमदिनेजादले अमेरिका बिरोधी दक्षिण अमेरिकी मुलुकसँग सम्बन्ध बिस्तार गरेका थिए । साम्राज्यवाद बिरोधी मोर्चामा आफूलाई उभ्याउदै आएका अहमदिनेजाद र भेनेजुयलाका पूर्व राष्ट्रपति स्वर्गीय ह्युगो चावेज वीच पनि न्यानो सम्बन्ध थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us