वैद्यको निर्वाचन भाँड्ने हैसियत छैन: प्रचण्ड

काठमाण्डु टुडे २०७० साउन २३ गते ७:११ मा प्रकाशित

पोखरा, २३ साउन । एकीकृत माओवादी अध्यक्ष प्रचण्डले आफ्नो पार्टीसँग अलग्गिएर मोहन वैद्य नेतृत्वमा गठित नेकपा–माओवादीसँग संविधानसभा निर्वाचन भाँड्ने हैसियत नरहेको बताएका छन् ।
एबीसी भटेलिभिजनले पोखरामा बुधबार गरेको कार्यक्रममा प्रचण्डले आफू र वैद्य ३० वर्षसम्म एउटै कमिटीमा रहेर काम गरेको स्मरण गर्दै वैद्य समूहले चुनाव भाँड्न नसक्ने बताए । निर्वाचन भाँड्ने धम्की दिन छाडेर सहमतिमा आउन वैद्यलाई उनको आग्रह थियो । उच्चस्तरीय राजनीतिक समिति संयोजकसमेत रहेका प्रचण्डले मंगलबारको वार्तामा वैद्य समूहले समितिसमक्ष राखेका माग पूरा गर्नै नसकिने खालमा रहेको स्पष्ट गरे ।

prachanda-1पछिल्लो समय पूर्वराजा ज्ञानेन्द्र शाहसँग सहकार्य गर्न सकिने वैद्यको अभिव्यक्तिलाई उनले वैचारिक स्खलनको संज्ञा दिए । निर्वाचन भाँड्ने शक्ति जनताबाट नांगिने चर्चा गर्दै उनले जनभावनाको कदर गरी निर्वाचन प्रक्रियामा सहभागी हुन वैद्यलाई आग्रहसमेत गरे । उनले पूर्वदरबारिया शक्ति संविधानसभा निर्वाचन भाँड्न उद्धत बनेकाले १२ बुँदे समझदारीका सहयात्री दलहरू एकजुट भएर अघि बढ्नुपर्ने बताए ।

प्रचण्डले विगतमा परिवर्तन पक्षधर शक्तिको दुई तिहाई बहुमत नहुँदा सविधान जारी नहुँदै संविधानसभा विघटन भएको उल्लेख गर्दै आसन्न संविधानसभा निर्वाचनमा आफ्नो पार्टीको बहुमत र परिवर्तन पक्षधरको दुई तिहाई आउने दाबी गरे । आमजनताका, मुख्य राजनीतिक दल र अन्तर्राष्ट्रिय समुदायसमेत निर्वाचनका पक्षमा रहेकाले तोकिएकै समयमा आगामी मंसिर ४ मा दोस्रो संविधानसाभा निर्वाचन भएरै छाड्ने जिकिर गरे । अर्को एक फरक प्रसंगमा प्रचण्डले भारत, चीन र अमेरिकालाई गाली गर्दैमा कोही राष्ट्रवादी बन्न नसक्ने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us