गुरुङलाई राष्ट्रपति भेट्न पठाएर विप्लव चीनतिर

काठमाण्डु टुडे २०७० भदौ १३ गते ११:४० मा प्रकाशित

Netra-Bikram-Chandकाठमाण्डु १३ भदौ-सरकार र चार राजनीतिक दलसँग वार्ता असफल भएपछि निर्वाचन कार्यतालिकालाई विथोल्ने गरी आन्दोलनका कार्यक्रम घोषणा गरेको नेकपा–माओवादीका सचिव नेत्रविक्रम चन्द ‘विप्लव’बिहीबार उत्तरी छिमेकी चीनतर्फ लागेका छन् । आफूभन्दा वरिष्ठ सचिव देव गुरुङलाई गोलमेचसभाका लागि सहजकर्ता बनिदिन राष्ट्रपति रामवरण यादवलाई आग्रह गर्न शीतलनिवास पठाएर विप्लव चीन गएका  हुन् । विप्लव चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागको निमन्त्रणामा ११.४५ बजे एयर चाइनाको उडान नम्बर CA ४०८ बाट ल्हासा र छेङदु हुदै बेइजिङ प्रस्थान गरेका हुन। १० दिनका लागि चीन प्रस्थान गरेका विप्लवको चीन भ्रमणलाई अर्थपूर्ण रुपमा लिइएको छ।

स्रोतका अनुसार नेपालको शान्ति, स्थायित्व र समृद्धिमा चिन्ता व्यक्त गर्दै आएको चीनले विप्लवलाई बोलाएर नेपालको राजनीतिक अवस्था र माओवादीको भावी रणनीतिले आफनो मुलुकलाई पर्न सक्ने असरका बारेमा बुझ्न खोजेको छ । शान्ति प्रक्रियाले पूर्णता पाएको र संविधान निर्माणका लागि संविधानसभा निर्वाचन तयारी अघि बढिरहेक बेला सेना समायोजन र संविधानसभाको प्रक्रियामै विरोध जनाइरहेका विप्लवको  भ्रमण सामान्य भेटघाटमा सीमित रहने छैन ।

स्रोतका अनुसार चीनले विप्लवलाई एकीकृत माओवादीसँग गठबन्धन गरेर संविधानसभा निर्वाचनमा सहभागी हुन वा पार्टी एकता गरेर अघि बढन सुझाव दिन सक्नेछ । राष्ट्रियताका बारेमा नेकपा–माओवादीले उठाएका मुद्दामा समर्थन गर्दै आए पनि चीनले पार्टी विभाजन गरेकोप्रति असन्तुष्टि व्यक्त गर्दै आएको छ । चीनले एकीकृत माओवादीका अध्यक्ष प्रचण्ड र अध्यक्ष मोहन वैद्य दुवैलाई छाती फराकिलो बनाएर शान्ति, स्थायित्व र समृद्धिको दिशामा अघि बढन सुझाव दिने गरेको छ ।

माओवादी भित्र पार्टी एकता गर्ने वा एकीकृत माओवादीसँग गठवन्धन बनाएर निर्वाचनमा जाने वा सशक्त रुपमा निर्वाचन बहिस्कार गरी गृहयुद्धमा जाने बारेमा मतभेद रहँदै आएको छ । अध्यक्ष मोहन वैद्यले संविधानसभा निर्वाचनलाई उपयोग गर्न उपाध्यक्ष सीपी गजुरेलको नेतृत्वमा संयुक्त मोर्चा बनाएर निर्वाचन आयोगमा दर्ता गराउन तीन पटकसम्म गरेको प्रयासलाई विप्लवले नै असफल बनाइदिएका थिए ।

पार्टी विभाजनपछि पनि विप्लवले कुटनीतिक सम्बन्ध विस्तार गर्न चीन र भारत दुवै मुलुकका अधिकारीहरुसँग भेट गर्दै आएका छन् । तर उनले चाहे अनुसारको सफलता प्राप्त भइरहेको छैन । ०६९ जेठ २१ देखि २७ सम्म चीन भ्रमण गरेर फर्केलगत्तै विप्लवकै गुरुयोजनामा एकीकृत माओवादी विभाजित भएको थियो । गत असार २५ गते चीन गएका अध्यक्ष मोहन वैद्य र उपाध्यक्ष सीपी गजुरेल चार दिनका लागि चीन भ्रमण गरेका थिए । वैद्य र गजुरेललाई निर्वाचन उपयोग गर्ने वा नगर्ने बारेमा केही नबताए पनि जनताबाट टाढा रहने काम नगर्न सुझाव दिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us