अख्तियारसँग रिस साध्न निर्दोषलाई सास्ती

काठमाण्डु टुडे २०७० भदौ १३ गते १:२१ मा प्रकाशित

काठमाण्डु । ‘अरब जान तपाईंको डकुमेन्ट पुगेन’ अध्यागमनका कर्मचारीबाट अचानक यस्तो खबर सुनेपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल उडान प्रतिक्षामा रहेका रुपन्देही बुटवलका ओमप्रकाश चौधरी स्तब्ध भए ।

तर, उनले जस्तै पासपोर्ट, टिकट, श्रम स्वीकृतिपत्र लिएका अरु १५ जना भने बाईबाई भन्दै जहाजतर्फ लागे । ‘मलाई दिउँसै अँध्यारो जस्तो भयो,’ शनिबार अरब उड्न नपाएको दुःखद क्षण सम्झँदै चौधरी भन्छन् । चौधरीले त्यहाँका कर्मचारीसँग रोकिनुपर्ने कारण बुझ्ने प्रयास पनि गरे । तर अध्यागमनका कर्मचारी केही बोलेनन् । ‘सुरक्षा जाँच भैसकेको मेरो लगेज फिर्ता दिएर उनीहरु चुपचाप बसे,’ चौधरी भन्छन्, ‘पछि बुझ्दा पो थाहा भयो अख्तियारको कारबाहीबाट आक्रोशित अध्यागमन कर्मचारीको रिसको सिकार म भएको रहेछु ।’

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार अभियोगमा कारबाही थालेपछि आक्रोशित अध्यागमन कर्मचारीले चौधरी जस्ता निर्दोष कामदारसँग बदला लिन थालेको अन्नपूर्ण पोष्ट दैनिकले खबर छापेको छ ।

बुटवलकै सुमित राना र बाराका दिपेन्द्र चौधरीले पनि अध्यागमन कर्मचारीबाट यस्तै पीडा भोगेका छन् । अध्यागमनका कर्मचारीले वैदेशिक रोजगारीमा जान राकेपछि अहिले उनीहरु काठमाडौंको गौशालास्थित गेसट हाउसमा बस्दै आएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us