तत्काल क्षतिपूर्ति नदिए आन्दोलनमा उत्रने चेतावनी

काठमाण्डु टुडे २०७० साउन २२ गते १६:४६ मा प्रकाशित

काठमाण्डु २२ साउन : कालिकोटका बाढी पीडितहरुले तत्काल क्षतिपूर्तिसहित राहत उपलब्ध नगराए काठमाण्डु केन्द्रीत आन्दोलन थाल्ने चेतावनी दिएका छन् । कालिकोटको मेहलमुडी, मुम्रा, सिप्खाना र सिउना गाविसको बीच भाग भएर बग्ने सान्नीगाड खोलामा असार ३ गते आएको बाढीले ज्यान लिएका पीडितहरुले अहिलसम्म क्षतिपूर्ति र राहत नपाएको भन्दै काठमाडौ केन्द्रीत आन्दोल थाल्ने चेतावनी दिएका हुन् ।
आफना माग वारेमा मन्त्रीपरिषदका अध्यक्ष खिलराज रेग्मीको ध्यानाकर्षण गराउदै बुधवार उनीहरुले ज्ञापनपत्र बुझाउदैछन । ज्ञापनपत्र बुझाएपछि आन्दोलनमा उत्रने स्थानीय देवराज बमले जानकारी दिए । काठमाण्डुमा मंगलवार पत्रकार सम्मेलन गरी पीडितहरुले बाढी पहिरोमा ज्यान गुमाएका १६ जनाको परिवारलाई उचित राहतको व्यवस्था तत्काल गरिनुपर्ने, बाढी पहिरोबाट विस्थापित र जोखिममा परेका घर परिवारहरुको पुनःस्थापना गरिनुपर्ने, आप्mना बाबु–आमा गुमाएका बालबालिकाहरुलाई स्वास्थ्य शिक्षाको व्यवस्था गरिनुपर्ने, बाढीमा परी घाईते भएर उपचार गराई रहेका घाइतेको उपचारको व्यवस्था गरिनुपर्ने जस्ता १० सूत्रीय मागसहित आन्दोलनमा उत्रने चेतावनी दिएका हुन ।
कालिकोटे बाढीपीडित संघर्ष समितिका संयोजक विर्खबहादुर शाहीले बाढी पहिरोमा परेर ज्यान गुमाएका १६ जनामध्ये ८ जनाले ४० हजारको दरले राहत पाएको र अझै ८ जनाले क्रिया खर्चसमेत नपाएको गुनासो पोखे । उनले भने ‘बाढी पहिरोले एक सय वटा घोडा, चार सय भन्दा बढी भेडा, ४० वटा भैसी, ५० वटा गाई मरेका छन् त्यसको क्षतिपूर्ति सरकारले तत्काल उपलब्ध गराउनुपर्छ ।’
बाढी पीडित देवराज बमले भने‘स्थानीय जनताको ४० विघा जमिनसहित दुई करोड ५० लाख बराबरको क्षति भएको छ, विद्यालयहरु सबै बन्द छन्, जनताहरु पाल टाँगेर बस्नुपरेको छ सरकारले केही हेरेको छैन।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us