वैद्यका १८ बुँदे र उपेन्द्रका ६ बुँदे सर्त

काठमाण्डु टुडे २०७० साउन २२ गते ८:१० मा प्रकाशित

काठमाडौँ, २२ साउन ।  मोहन वैद्यले नेतृत्व गरेको २५ दलीय मोर्चाले उच्चस्तरीय राजनीतिक समितिसमक्ष १८ बुँदे र उपेन्द्र यादव नेतृत्वको संघीय लोकतान्त्रिक मोर्चाले ६ बुँदे लिखित माग पेश गरेको छ ।
नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा मंगलबार भएको छुट्टाछुट्टै वार्तामा दुवै मोर्चाले निर्वाचनमा सहभागी हुन विभिन्न सर्तसहितका माग पेश गरेका हुन् । एकीकृत माओवादी नेता नारायणकाजी श्रेष्ठले वार्ता सकरात्मक भएको दाबी गरे ।
वार्तामा असन्तुष्ट दलका मागमा खुलेर छलफल भएको र उच्चस्तरीय राजनीतिक समितिमा गृहकार्य गरेर फेरि अर्को वार्तामा बस्ने श्रेष्ठले बताए । नेकपा–माओवादी अध्यक्ष मोहन वैद्यले दलहरुबीच ठोस सहमति नहुँदासम्म निर्वाचन तयारी स्थगित गरिनुपर्ने, २५ ११ बुँदे राजनीतिक सहमति र २५ बुँदे बाधाअड्काउ फुकाउ अध्यादेश खारेजी, उच्चस्तरीय राजनीतिक समिति भंग गरेर सबैदललाई समेटिनुपर्ने सहितका १८ बुँदे लिखित माग बुझाएको जानकारी दिए ।
त्यसअघि भएको वार्तामा उपेन्द्र यादव नेतृत्वको संघीय लोकतान्त्रिक मोर्चाले वर्तमान पनि ११ बुँदे र २५ बुँदे तथा उच्चस्तरीय राजनीतिक समिति खारेज हुनुपर्ने, मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले प्रधानन्यायाधीश पदबाट राजीनामा दिनुपर्ने, संविधानसभामा ४२ प्रतिशत प्रत्यक्ष र ५८ प्रतिशत समानुपातिक प्रतिनिधित्वको व्यवस्था गरिनुपर्ने तथा जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण गरिनुपर्ने लगायत ६ बुँदे मागपत्र पेश गरेको थियो ।
बैठकपछि मोर्चा अध्यक्ष यादवले उच्चस्तरीय समितिमा रहेका दलहरु बिनातयारी आएकाले वार्ता निष्कर्षविहीन बनेको बताए । समितिमा रहेका दलबरुबीचमै आफूहरुका मागमा एकरुपता नरहेको यादवको भनाइ थियो । उच्चस्तरीय समितिले वार्तामा आउन अपिल गर्दै तेस्रोपल्ट पत्र पठाएलगत्तै असन्तुष्ट दल वार्तामा आएका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us