रासायनिक हमला : सीरिया र अमेरिका आमने–सामने

काठमाण्डु टुडे २०७० भदौ ११ गते ५:३३ मा प्रकाशित

काठमाण्डु, ११ भदौ – सीरियामा रासायनिक हतियार प्रयोग भएको अमेरिकाले ठहर गरेको छ । अमेरिकाको यो निष्कर्षपछि सीरिया र अमेरिका युद्धको लागि आमने–सामने भएका छन् ।

अमेरिकी विदेशमन्त्री जोन केरीले भनेका छन्, ‘सीरियामा निसन्देहरुपमा रासायनिक हतियारको प्रयोग भएको छ ।’ उनले यसलाई ‘नैतिक अश्लिलता’को संज्ञा दिएको विविसीले जनाएको छ । अमेरिकाको यो भनाईले सीरियाविरुद्ध सैनिक कारबाही गर्न उसले आधार तयार पार्दै गरेको पुष्टि हुन्छ । यद्यपी रुस, चीन लगायतका सहयोगी देशले सीरियाविरुद्ध कुनै पनि प्रकारको कारबाही नगर्न सचेत पार्दै आएका छन् ।

सीरिया सरकारले आन्दोलनरत समूहविरुद्ध रासायनिक हमला गरे–नगरेको जाँच गर्न पुगेको संयुक्त राष्ट्रसंघको टोलीलाई अज्ञात बन्दूकधारीले आक्रमण गरेका थिए । गत २१ अगष्टमा सरकारविरुद्ध आन्दोलनकारीमाथि रासायनिक हमला गर्दा सैयौंले ज्यान गुमाएको विपक्षीहरुको आरोप छ । तर, सीरिया सरकारले यस आरोपको खण्डन गर्दै आएको छ । उसले रासायनिक हमलाको जिम्मेदार आन्दोलनकारी नै रहेको दावी गर्दै आएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us