भ्रमण सोचेभन्दा सफल: कोइराला

काठमाण्डु टुडे २०७० साउन २२ गते ४:१३ मा प्रकाशित

नयाँ दिल्ली, २२ साउन ।  भारतीय प्रधानमन्त्री मनमोहन सिंहको निम्तामा औपचारिक भारत भ्रमणमा रहेका कांग्रेस सभापति सुशील कोइरालाले सोमबार भारतीय प्रधानमन्त्री सिंह, राष्ट्रिय सुरक्षा सल्लाहकार शिवशंकर मेनन र विदेश सचिव सुजाता सिंहसँग भेटवार्ता गरेका छन् ।

मंगलबार कांग्रेस गठबन्धन नेतृ सोनिया गान्धी, विदेशमन्त्री सलमान खुर्सिद, विपक्षी दलकी नेतृ सुष्मा स्वराजसहितसँग भेटवार्ता गर्दैछन् । पार्टीका महामन्त्रीद्व प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलालाई साथमा लिएर दिल्ली पुगेका कोइरालाले भ्रमण सोचेभन्दा सफल भएको बताएका छन् । यसबारे आजको कान्तिपुर दैनिकमा समाचार छापिएको छ ।

भारत भ्रमण कस्तो भइरहेको छ ?

निकै व्यस्त छु । भेटघाट जारी छन् । आज प्रधानमन्त्री मनमोहन सिंहसँग वार्ता भयो, अर्थपूर्ण कुराकानी भए । भ्रमण उपलब्धिमूलक छ, अपेक्षा गरेभन्दा सफल ।

लक्ष्मणपुर बाँधको कुरा उठाउने भन्नुभएको थियो । सिंहसँग त्यस्तो कुरा भयो ?

मैले नेपाल-भारत सीमावर्ती क्षेत्रमा देखिएको बाढीपहिरोको प्रकोपबारे कुरा उठाएँ । दुवै देशको हितमा रहने गरी प्राकृतिक विपत्ति रोक्ने काम थाल्न सुझाएको छु ।

एक महिनाकै अन्तरमा कांग्रेसकै देउवापछि तपाईं आउनुभएको छ । किन यसरी दोहोरिँदै निम्ता गएको हो ?

होइन, नेपाली कांग्रेससँग भारतको सम्बन्ध विशिष्ट छ, ऐतिहासिक महत्त्वको छ । यसरी भ्रमण भइरहनु अन्यथा होइन । देउवाजी पूर्वप्रधानमन्त्रीका हैसियतमा आउनु भएको हो, म पार्टी सभापतिका रूपमा ।

भनेपछि पार्टीगत भ्रमण हो यो ?

देउवाजी आएर द्वैपक्षीय सम्बन्ध सुधार्ने पक्षमा काम भएको हो, म पनि द्वैदेशीय चासो र सम्बन्धका विषयमा केन्दि्रत छु ।

यसअघि पनि तपाईंलाई भारत भ्रमणमा बोलाइएको थियो । तर तपाईं भारतसँग रुष्ट रहेकाले आउन नचाहेको भन्ने टिप्प्णी हुने गरेको छ नि ?

त्यसो होइन । म भारतसँग कहिल्यै रुष्ट छैन । मेरो छवि बिगार्न गरिएको यो दूषित प्रचार मात्रै हो । यसको कुनै अर्थ छैन  ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us