‘वैद्यले गोलमाल गर्न गोलमेच सम्मेलनको कुरा झिके’

काठमाण्डु टुडे २०७० भदौ ८ गते १२:१५ मा प्रकाशित

agni sapkotaकाठमाण्डु, ८ भदौ– एकीकृत नेकपा माओवादीले आफूसँग फुटेर अलग भएको मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीले चुनाव नचाहेको ठहर गरेको छ । शनिबार विहान नेकपा–माओवादीका शीर्ष नेताहरुसँग भएको छलफलको समिक्षा गरी एमाओवादीले यस्तो निष्कर्ष निकालेको हो ।

‘अध्यक्ष प्रचण्डसँग विहान भएको भेटमा वैद्य जीहरुको प्रस्तुति हेर्दा उहाँहरु चुनावमा नजाने अब स्पष्ट भयो,’ शनिवारको नियमित पत्रकार भेटघाटमा प्रवक्ता अग्नी सापकोटाले भने, ‘उहाँहरुले हालसम्मको सबै प्रकृया गोलमाल गर्नकोलागि मात्रै गोलमेच सम्मेलनको कुरा गर्नुभएको रहेछ ।’ नेकपा–माओवादीकै माग अनुसार गोलमेच सम्मेलनमा जान तयार भए पनि माओवादीले चुनाव नचाहेको सापकोटाको भनाई छ ।

उनले मंसिर ४ को चुनाव नै राजनीतिक निकासको एकमात्र विकल्प भएकोले चुनावमा सहभागी हुन वैद्य माओवादीलाई आग्रह गरे । अन्यथा उनीहरुको राजनीतिक भविष्य संकटमा पर्ने उनले चेतावनीसमेत दिए । सापकोटाले भने, ‘वैद्य जीहरुलाई हाम्रो के आग्रह हो भने, अझै समय छ, चुनावमा आउनुस् । नत्र राजनीतिक रंगमन्चबाट विदा हुनुपर्ने छ ।’ उनले १२ बुँदे सहमतिका सहयात्री दलहरु मिलेर अघि बढ्नु पर्नेमा जोडसमेत दिए ।

प्रवक्ता सापकोटाले वर्तमान चुनावी सरकार गठनको क्रममा राष्ट्रपतिबाट भएको २५ बुँदे बाधा अड्काउ फुकाउ र मुख्य चार दलबीच भएको ११ बुँदे सहमति खारेज नहुने प्रष्ट्याए । दोस्रो संविधानसभा चुनाव मंसिर ४ गते नै हुने र हालकै सरकारले चुनाव गराउने सापकोटाको भनाई छ । ‘वर्तमान सरकार गठनको आधार २५ बुँदे र ११ बुँदे खारेज हुँदैन । चुनाव पनि मंसिर ४ भन्दा दायाँबायाँ हुँदैन,’ सापकोटाले भने ।
११ गते केन्द्रीय समिति बैठक

उनले आउँदो मंगलबार बस्ने केन्द्रीय समिति बैठकमा चुनावी घोषणापत्र र उम्मेदवार छनोटबारे छलफल हुने जानकारी दिए । ‘अब चुनावी घोषणापत्र र उम्मेदवारको नामावलीलाई अन्तिम रुप दिने काम हुन्छ,’ आगामी केन्द्रीय समिति बैठकबारे जानकारी दिदै प्रवक्ता सापकोटाले भने, ‘सबै निर्बाचन क्षेत्रबाट सुझाव आउने क्रम जारी छ । त्यही सुझावको आधारमा चुनावकोलागि नयाँ योजना बनाउँछौं ।’

जनसम्बन्ध सुदृढिकरण अभियानकालागि २ सय ४० वटै निर्बाचन क्षेत्रमा खटिएका नेताहरुबाट आगामी चुनावकोलागि सम्भावित ५–५ जना उम्मेदवारको नामावली र सुझाव प्रतिवेदन आउने क्रम जारी रहेको उनले जानकारी दिए । ४५ वटा जिल्लाले अभियानको समिक्षात्मक रिपोर्ट बुझाइसकेको र बाँकीबाट आउने क्रम जारी रहेको प्रवक्ता सापकोटाले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us