विनोद चौधरीका ससुरा अख्तियारको निशानामा

काठमाण्डु टुडे २०७० भदौ ८ गते ५:४३ मा प्रकाशित

काठमाडु, ८ भदौ– उद्योगपति विनोद चौधरीका ससुरा विएल शर्मा महंगो भोज गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निसानामा परेका छन् । सामाजिक सुधार ऐनविपरित महंगो भोजभतेर नगर्न अख्तियारले दिएको निर्देशन उल्लंघन गरेको आरोपमा जिल्ला प्रशासन कार्यालय काठमाण्डुले शर्माको आम्रपाली बैंक्वेट छापा मारेको छ । काठमाण्डुका प्रमुख जिल्ला अधिकारी बसन्तराज गौतम नेतृत्वको टोलीले छापा मारेर बैंक्वेटका केही कागजपत्र नियन्त्रणमा लिएको छ ।

शर्मालाई आइन्दा तडकभडक र महंगो भोज नगर्न सचेत समेत पारिएको नयाँपत्रिका दैनिकले लेखेको छ । ‘हामीले उहाँ (बीएल शर्मा)लाई सचेत गराई थप अनुसन्धान थालेका छौं,’ प्रमुख जिल्ला अधिकारी गौतमले भने । आफ्नो ९० औं जन्म दिनको अवसर पारेर शर्माले आम्रपाली बैंक्वेटमा विहीबार महंगा मदीरा सहितको भोज दिएका थिए । भोजमा पूर्वप्रधानमन्त्री सहित भीआईपी व्यक्तिहरु गरी ४ सय भन्दा बढी सहभागी थिए । सो बैंक्वेट शर्माको आफ्नै हो । शर्मा उद्योगपति विनोद चौधरीका ससुरा हुन् । शर्माकी छोरी सारिकासँग चौधरीले विहे गरेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले केही दिनअघि विज्ञप्तिमार्फत् महंगो भोजभतेर नगर्न भनेको थियो । सो आग्रहपछि एमाले नेता अग्नी खरेलले तय गरेको छोरा बिहेभोज रद्द गरेका थिए । कांग्रेस नेता सशांक कोइरालाले भने छोरीको विहेमा याक एण्ड यति होटेलमा भव्य पार्टी गरेका थिए । सामाजिक सुधार ऐन कार्यान्वयनको जिम्मा प्रमुख जिल्ला अधिकारी गौतमको नेतृत्वमा विहीबारबाट भोजभेतरमाथि निगरानी शुरु गरेको छ । सामाजिक सुधार ऐन कार्यान्वयनको जिम्मा प्रमुख जिल्ला अधिकारीलाई दिइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us