संसदीय टोली शे–फोक्सुण्डो निकुञ्जमा

काठमाण्डु टुडे २०७७ मंसिर ५ गते १६:५४ मा प्रकाशित

डोल्पा, ५ मङ्सिर- प्रतिनिधिसभा,कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापतिसहितको संसदीय टोली त्यहाँ पुगेका छन् । समितिका सभापति पूर्णकुमारी सुवेदीको नेतृत्वमा स्थलगत अध्ययन भ्रमण समितिका सदस्य भवानीप्रसाद खापुङ, भूपेन्द्रबहादुर थापा र राजबहादुर क्षेत्रीको टोली शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा पुगेको हो ।

सो टोलीले निकुञ्ज क्षेत्रको स्थलगत अध्ययन गर्नाका साथै निकुञ्जका विषयमा स्थानीयबासीसँग छलफल गर्ने कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए ।

टोलीले निकुञ्ज क्षेत्रका विभिन्न गाउँवस्तीमा बसोवास गर्ने स्थानीयसँग संरक्षणका गतिविधिमा छलफल गर्ने जनाइएको छ । निकुञ्जका निमित्त संरक्षण अधिकृत सरोजमणि पौडेलले भने “निकुञ्जको मुख्य क्षेत्रमा मात्रै २४ गाउँबस्ती छन् । स्थानीयबासी आवश्यकता र विकास निर्माणका कुरा छन् । निकुञ्जका ऐनकानूनले निकुञ्ज क्षेत्रमा विकास गर्नुपूर्व राष्ट्रिय निकुञ्ज विभागको अनुमति लिनुपर्ने प्रावधान राखेको छ ।”

निकुञ्ज, स्थानीय सरकार र नागरिकबीच विवाद नआउने किसिमले नयाँ ऐन कानून निर्माण गर्ने कि भएको कानूनलाई थप कडाइ गर्न सघाउने भन्ने विषयमा समेत संसदीय टोलीको विशेष चासो रहेको निकुञ्जको भनाइ छ ।

निकुञ्ज क्षेत्रभित्र पाइने बहुमूल्य जडीबुटीको उपभोग जिल्लाका नागारिकले मात्रै गर्न पाउने व्यवस्था गरेमा निकुञ्ज संरक्षणमा थप सजिलो हुने जनाइएको छ । यसबाट नागरिकको आयस्तरमा समेत वृद्धि हुने निकुञ्जको विश्वास छ । निकुञ्ज स्थापनाको आवश्यकता र औचित्य सबैले बुझ्न जुरुरीरहेको संरक्षण अधिकृत पौडेलको भनाइ छ । समितिले निकुञ्ज क्षेत्रमा पर्ने छेप्का, रिग्मो र जिल्ला सदरमुकाम दुनैमा समेत छलफल गर्ने कार्यक्रम रहेको बताइएको छ । 


Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us