भन्सार असूली एक अर्ब

काठमाण्डु टुडे २०७७ कार्तिक २६ गते १५:१९ मा प्रकाशित

रसुवा, २६ कात्तिक- नेपालको उत्तरी नाका रसुवागढीबाट आयात हुने सामग्रीको परिमाण बढेसंँगै भन्सार असूलीमा क्रमिक सुधार आउन थालेको छ । कोभिड– १९ का कारण बन्द अन्तरराष्ट्रिय रसुवागढी नाका गत असारदेखि पुनः सञ्चालनमा आएपछि चीनबाट आयात हुने मालसामग्रीको परिमाण केही मात्रामा बढ्न थालेको रसुवा भन्सार कार्यालय टिमुरेले जनाएको छ ।

आयातिन सामानको परिमाण बढेसँंगै चालु आर्थिक वर्षको गत साउनदेखि हालसम्म भन्सार शुल्कवापत करिब रु एक अर्ब राजश्व संकलन भएको प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले जानकारी दिए । आयात भएका सामग्रीमा जुत्ता, चप्पल, तयारी पोशाक, शिशुका खेलौना, विद्युत्का उपकरणलगायत छन् ।

चिनियाँ व्यवसायीले दैनिक पाँच ठूलो टे«लरमार्फत मितेरी पुलसम्म मालसामग्री ल्याउने गरेको जनाइएको छ । दैनिक स्वास्थ्य परीक्षण एवं सामाजिक दूरीको पालना गराई नेपाली कन्टेनरमा सामान लाद्न र रसुवागढीदेखि टिमुरेमा रहेको भन्सार हातासम्म कन्टेनर ल्याउन मजदूर तथा चालकको व्यवस्था गरिएको भन्सार कार्यालयले जनाएको छ । सामान लाद्नका लागि ३३ मजदूर एवं कन्टेनर सञ्चालन गर्न १७ चालकको व्यवस्था मिलाइएको छ ।

केरूङदेखि रसुवागढीसम्म सामान ढुवानी गर्ने चिनियाँ भन्सार प्रतिनिधिले चर्काे भाडा असुल्ने गरेका कारण व्यवसायी मर्कामा परेको गुनासो बढेको छ । रसुवागढी नाका पुनःसञ्चालनमा आएसंँगै चिनियाँ ढुवानीकर्ताले कायम गरेको केरूङदेखि रसुवागढीसम्मको भाडादर पछिल्लो समयमा भारी मात्राले वृद्धि गरेको हुँदा पुनरवलोकनका लागि पहल गरिदिन सम्बन्धित निकायसमक्ष आग्रह गरिएको स्थानीयवासी सुनामवाङ्दी तामाङले बताए ।


Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us