सुशीलले भने–१० बर्षमा देशमा कायापलट ल्याउँछु

काठमाण्डु टुडे २०७० कार्तिक ८ गते १०:३८ मा प्रकाशित

Sushil_koiralaचितवन, ८ कात्तिक–नेपाली काँग्रेसका सभापति सुशील कोईरालाले दश वर्षमा नेपालको विकासमा कायापलट ल्याउने दावी गरेका छन् । नेपाल प्रेस युनियन चितवन शाखाले शुक्रबार विहान मंगलपुरमा गरेको ‘मतदातासँग उम्मेदवार’ कार्यक्रममा कोइरालाले आगामी चुनावमा काँग्रेसलाई जिताउन आग्रह गरे ।

‘विपीले १५ वर्षमा सबै नेपालीलाई आफू सरह बनाउने बताउनु भएको थियो । अब काँग्रेसले दश बर्षमा आम नेपालीलाई सम्पन्न गराउँछ,’ कोइरालाले भने, ‘सबै मिलेर काँग्रेसलाई चुनावमा जिताउनु पर्यो ।’

मतदाताहरुको प्रश्नको जवाफ दिँदै कोइरालाले एमाओवादीले भनेजस्तो प्रत्यक्षरुपमा जनताबाट निर्वाचित राष्ट्रपति वा प्रधानमन्त्री कार्यकारी प्रमुख भएमा तानाशाही बन्ने आशंका गरे । उनले भने, ‘कार्यकारी प्रमुख प्रत्यक्ष निर्वाचित सम्भव छैन । राजा राणाको तानाशाही शासनको सामना गरिसकेका नेपाली जनातालाई फेरी तानाशाही शासन मान्य हुदैन ।’

कार्यक्रममा मतदाताहरुले सडक, स्वास्थ्य, खानेपानी, सुकुम्बासी समस्या लगाएतका जिज्ञासाहरु राखेका थिए । जवाफमा उनले समग्र चितवनको विकासलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएका थिए । सडक, स्वास्थ्य चौकी, पर्यटकीय स्थान र सुकुम्बासीको समस्या समाधान गर्ने कोइरालाको भनाइ थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us