‘गैरआवासीय नेपाली र नेपाल: समृद्धिका साझेदार’

काठमाण्डु टुडे २०७० कार्तिक १ गते १३:२१ मा प्रकाशित

काठमाण्डु, १ कात्तिक–‘गैरआवासीय नेपाली र नेपाल:समृद्धिका साझेदार’ भन्ने नाराका साथ शनिवारदेखि छैठौ  गैरआवासीय विश्व सम्मेलन तथा गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय महाधिवेशन सुरु हुँदैछ ।NRN-logo
संघको अन्तर्राष्ट्रिय महाधिवेशन शनिवार र आइतवार र गैरआवासीय विश्व सम्मेलन सोमबार र मङ्गलबार गर्ने कार्यतालिका सार्वजनिक गरिएको छ ।
राष्ट्रपति डा रामवरण यादवले सोमबार विश्व सम्मेलनको समुद्घाटन गर्ने तथा मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले सम्मेलनको समापन गर्ने कार्यक्रम तय भएको संघका अध्यक्ष जीवा लामिछानेले जानकारी दिए । अन्तर्राष्ट्रिय महाधिवेशनले नयाँ कार्यसमिति चयन गर्नेछ । नयाँ कार्यसमिति गठनपछि विश्व सम्मेलन हुनेछ ।
विश्वका ५० मुलुकमा रहेका एक हजार तीन सय गैरआवासीय नेपाली सम्मेलनमा भाग लिंदैछन् । संघले हालसम्म ६५ मुलुकमा आफ्नो सञ्जाल विस्तार गरेको छ ।
गैरआवासीय नेपालीको लगानीमा लमजुङको सर्दी खोलामा २७ मेगावाट क्षमताको विद्युत् आयोजना निर्माण सुरु गरिएको तथा हालसम्म आठ करोड खर्चेर देशका विभिन्न भागमा परोपकारका कार्य सम्पन्न गरिएका अध्यक्ष लामिछानेले बताए ।

सरकारले दिने सम्मेलन खर्च नलिने एनआरएनको घोषणा

गैरआवासीय नेपाली संघ एनआरएनले आफ्नो सम्मेलनका लागि सरकारले दिने आर्थिक सहयोग यो वर्षदेखि नलिने भएको छ ।
राजधानीमा शनिबारबाट हुने एनआएन छैटौं अन्तर्राष्ट्रिय सम्मेलनबारे जानकारी दिन शुक्रबार गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष जीवा लामिछानेले सरकारी सहयोग नलिने घोषणा गरेका हुन् । पत्रकार सम्मेलनमा लामिछानेले गत सम्मेलनका लागि सरकारले छुट्याएको रकम समेत नलिइएको दाबी गरे ।

nrn press meetलामिछानेले आफ्नो नेतृत्वको कार्यसमितिले गरेका सबै प्रतिबद्धता पूरा भएको जनाए । उनले आफ्नो कार्यकालमा संघका सदस्य तथा पदाधिकारीले सामाजिक सेवाका क्षेत्रमा ठूलो लगानी गरेको भन्दै त्यसलाई सफलताको संज्ञा दिए । पछिल्लो दुई वर्षमा एनआरएनका पदाधिकारी तथा सदस्यहरुले व्यक्तिगत रुपमा ३० करोड र संघमार्फत आठ करोड रुपैयाँ परोपकारको क्षेत्रमा खर्च गरेको जानकारी पत्रकार सम्मेलनमा दिइयो ।

नेपालको विकासका लागि आर्थिक एजेण्डालाई प्राथमिकता दिनुपर्ने भएकाले यसपटक प्रमुख दलका शीर्ष नेताहरुलाई समेत ल्याएर उनीहरुका आर्थिक एजेन्डाबारे छलफल गर्न लागिएको जानकारी अध्यक्ष लामिछानेले दिए ।

गैरआवासीय नेपाली ऐनमा दुई वर्ष विदेशमा बसेको व्यक्ति एनआरएन हुने व्यवस्था गरिएको र संस्थाको विधानमा भने ६ महिना विदेशमा बसेका व्यक्ति एनआरएन हुने व्यवस्थाका कारण हालसम्म नेपालमा संस्था दर्ता हुन नसकेको उनले बताए । उनले उक्त समस्या समाधानका लागि यसपटकको सम्मेलनमा विशेष छलफल गरिने उल्लेख गरे ।
यस्तै एनआरएनले वैदेशिक रोजागारीमा देखिएका समस्या समाधानको पहल स्वरुप जानकारीमुलक हाते किताब प्रकाशन गरी मुलुकका सबै गाविसमा नि:शुल्क वितरण गर्ने भएको छ ।
पत्रकार सम्मेलनमा एनआरएनए सस्थापक अध्यक्ष उपेन्द्र महतोले १० वर्षको अवधिमा एनआरएन अभियान सफल भएको दाबी गरे । एनआरएनले संसारभर छरिएर रहेका नेपालीलाई एउटै छातामुनि गोलवद्ध गर्न र नेपालको विकास तथा समृद्धिका लागि केही गर्नै पर्छ भन्ने भावनाको विकास गर्न सकेकामा आफूलाई गर्व लाग्ने गरेको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us