काठमाण्डु, १४ पुस– एकीकृत माओवादीको केन्द्रीय समिति बैठक एक महिनाका लागि पर सारिएको छ । तत्काल संविधान निर्माण र सडक आन्दोलनमा ध्यान दिने भन्दै केन्द्रीय समितिको बैठक स्थगित गरिएको हो ।

देशभरि संविधान निर्माणका लागि दबाब दिने भन्दै एमाओवादीले जिल्ला जिल्लामा आन्दोलन परिचालन समिति गठन गर्ने भएको छ । यसअघि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता बाबुराम भट्टराई पक्षीय फरक फरक समिति बनेका जिल्लामा पनि आन्दोलन परिचालन समिति एउटै बनाएर जाने निर्णय भएको पोलिट्ब्युरो सदस्य विश्वभक्त दुलालले बताए ।
‘केन्द्रीय सदस्य संयोजक र जिल्लामा भएका दुवै समितिका अध्यक्ष सदस्य रहने गरी आन्दोलन परिचालन समिति बनाइने छ,’ दुलालले भने, ‘त्यसले संविधान निर्माणका लागि आन्दोलनको नेतृत्व गर्नेछ ।’
संविधान निर्माणको वातावरण नबनेको भन्दै एमाओवादी बैठकमा बोल्ने वक्ताहरुले नेतृत्वलाई आफ्नो अडान नछाड्न सुझाव दिएका छन् । सहमतिको सम्भावना तत्काल नभएकाले आन्दोलन गर्ने निर्णय गरिएको प्रवक्ता दीनानाथ शर्माले बताए ।
अध्यक्ष प्रचण्डले नेतृत्व हस्तान्तरण र विशेष महाधिवेशनको प्रस्ताव गरेको प्रतिवेदनमाथिको छलफल पनि तत्कालका लागि स्थगित गरिएको छ । बैठक आगामी माघ १५ गते पुनः बस्नेछ ।