संविधानमा सहमति भएपछि राष्ट्रिय सरकार:ओली

काठमाण्डु टुडे २०७१ पुष १४ गते १०:१७ मा प्रकाशित

विराटनगर, १४ पुस–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्धारित समय माघ ८ भित्रै संविधान जारी हुने बताएका छन् ।

kp oli

विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले संविधान निर्माणका विषयमा हदैसम्म लचकता अपनाउने र सहमति हुन नसकेका विषयलाई प्रक्रियामा लैजाने स्पष्ट पारे ।

उनले भने, ‘विभिन्न विकल्पमध्ये कुनै एक विकल्प अपनाएर तोकिएकै समयमा संविधान जारी गर्ने काम हुन्छ ।’

देशलाई नोक्सान पार्ने कुनै पनि सहमति नहुने स्पष्ट पार्दै नेता ओलीले जनताका चाहना अनुरुप संविधान दिन पार्टी लचिलो रहेको उल्लेख गरे ।

मुलुकमा १४ वटा प्रदेश बन्ने सम्भावनाबारे पत्रकारहरुले राखेको जिज्ञासा उनले प्रदेशको सङ्ख्यामा छलफल चलिरहेको जानकारी दिए ।

उनले संविधानमा सहमति भइसकेपछि राष्ट्रिय सरकार गठनको सम्भावना रहेको उल्लेख गरे ।

माघ ८ गतेपछि तपार्इं प्रधानमन्त्री बन्ने चर्चा छ नि भनेर पत्रकारहरुले राखेको जिज्ञासामा नेता ओलीले संविधान निर्माण नै आफ्नो पहिलो प्राथमिकता भएको बताए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us